३३ किलो सुन काण्डमा ‘जात्रै जात्रा’ बनेको होइन : प्रदीप भट्टराई

सुपरहिट दुई चलचित्र ‘जात्रा’ र ‘शत्रु गते’ निर्देशन गरिसकेका अहिलेका डिमाण्डेड निर्देशक मध्येका एक प्रदीप भट्टराईले आफू कहिल्यै कमेडीको दौडमा नलागेको बताएका छन् । आउँदो जेठ ३ गते प्रदर्शनका लागि तमतयार रहेको हिट चलचित्र ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ को प्रचारमा व्यस्त उनले आफूले दर्शक हँसाउनकै खातिर कहिल्यै संवाद प्रयोग नगर्ने बताए । आफू सिच्वेसन हिसाबको संवाद प्रयोग गर्ने भट्टराईको भनाई छ ।

‘कमेडी चलचित्र निर्देशक’ को ट्याग पाएका उनले पत्रकारसँगको एक भेटमा भने- ‘न मैले ‘जात्रा’ कमेडी चलचित्र भनेर बनाएको थिएँ न ‘शत्रु गते’ नै । न त ‘जात्रै जात्रा’ । म हँसाउनका लागि एउटा पनि संवाद प्रयोग गर्दिनँ । हामी सिच्वेसन हिसाबको संवाद प्रयोग गर्छौं । त्यसमा केही हाँस्छ । कोही रुन्छ ।’ आफू कमेडीको दौडमा नलागेको बताउँदै निर्देशक प्रदीपले ‘जात्रै जात्रा’ वास्तविक सुन काण्डमा आधारित भएर नबनेको पनि प्रस्ट्याएका छन् ।


‘वास्तविक ३३ किलो सुन काण्डको कथामा चलचित्र बनेको होइन । यो हामी आफैंले तयार गरेको कथा छ । ३३ किलो सुन काण्डको कथालाई ‘क्यास’ गरौं भनेर चलचित्र बनाएका होइनौं’, निर्देशक भट्टराई अगाडि भन्छन्, ‘सुन काण्डजस्तो लागोस् भनेर ट्रेलरमा एक/दुईवटा कुरा चाहिँ छोडेका अवश्य हौं । तर, यो हाम्रै जात्रा हो । कसैको जात्राबाट प्रभावित भएर बनेको होइन ।’ उनले ब्याज खानका लागि मात्र सिक्वेल नबनाएको पनि प्रस्ट्याए ।

‘जात्रा’ को सिक्वेल बनाउनु पर्ने बाध्यताबारे बताउँदै निर्देशक प्रदीप अगाडि भन्छन्, ‘‘जात्रा’ हेरेर निस्किएका दर्शकको मनमा २ करोड ८० लाख कहाँ हरायो ? त्यो कसको हातमा होला ? बैंकबाट निक्लिएको नोट कसरी नक्कल भयो ? लगायतका केही प्रश्न उब्जिएको थियो । यसैका कारण पनि हामीले सिक्वेल बनाउनु परेको हो । यद्यपि, सिक्वेल बनाउनै पर्छ भन्ने चाहिँ थिएन ।’’ उनले चलचित्रमा पैसासँगै दर्शकलाई थप मनोरञ्जन दिने उद्देश्यले सुनको कथा जोडेको बताए ।

SHARE THIS CONTENT

Leave A Response