सुनिलको निर्देशनमा ‘होस्टेल ब्याक अगेन’ बन्ने

‘होस्टेल’ र होस्टेल रिर्टन्सको पछि यही सिरिजको तेश्रो चलचित्र ‘होस्टेल ब्याक अगेन’ निर्माण हुने भएको छ । यो चलचित्रलाई दुर्गेस फिल्मस् र काफिया फिल्मस्ले निर्माण गर्ने भएको छ । चलचित्रको छायांकन अमेरिकामै गरिने यसका निर्माता गोविन्द शाहीले जानकारी गराएका छन् ।

दुर्गेस फिल्मस् र काफिया फिल्मस्ले निर्माण गर्ने चलचित्रलाई सुनिल रावलले निर्देशन गर्नेछन् । उनले यो चलचित्रबाट निर्देशनमा हात हाल्न लागेका हुन् । चलचित्रको सम्पूर्ण छायांकन अमेरिकामा हुनेछ । सुनिलले हरेक देशबाट अमेरिका अध्ययनका लागी गएका र होस्टेलमा बसेका युवा युवतीहरुको विषयलाई मुख्य कथा बुनेर ‘होस्टेल ब्याक अगेन’ निर्माण हुने जानकारी दिएका छन् ।

चलचित्रमा कथा स्वयम रावलको हो । यसको पटकथा, संवाद रायन राइजको रहनेछ । हाल स्क्रिप्टको काम भइरहेको पनि सुनिलले जानकारी गराएका छन् । आगामी अगस्टबाट छायांकन सुरु हुने यो चलचित्रको कलाकार चयन चाँडै सुरु गर्ने पनि सुनिलको कथन छ ।

पहिलो र दोस्रो पार्टका कलाकारहरु फिल्ममा दोहोरिने छन् वा छैनन् ? यसबारे निर्माण टिमले जानकारी दिएको छैन । निर्माता गोविन्द शाहीका अनुसार, चलचित्रमा होस्टलका विधार्थीका रुपमा अमेरिकामा नै अध्ययन गरिरहेका नेपाली बिद्यार्थीहरु अभिनय रहनेछ ।

SHARE THIS CONTENT

Leave A Response