यसकारण बन्न सकेन ‘बीर विक्रम’ को सिक्वेल : निर्देशक चाम्स

दयाहाङ राई, दीया पुन र अनुप विक्रम शाहीको प्रमुख भूमिका रहेको चलचित्र ‘बीर विक्रम’ करीब ३ वर्ष अगाडि प्रदर्शनमा आएको थियो । मिलन चाम्सले निर्देशन गरेको यस चलचित्रले व्यापार पनि राम्रो गरेको छ । यही चलचित्रको नामको पछाडि २ झुण्ड्याएर निर्देशक चाम्सले ‘बीर विक्रम २’ बनाएका छन्, जुन यही शुक्रवारबाट देशभर प्रदर्शनमा आउँदैछ । तर, यो चलचित्र सिक्वेल नभएर सिरिज रहेको चाम्स बताउँछन् ।

खासमा उनी सिक्वेलकै तयारीमा थिए । कथा पनि तयार थियो । पहिलो पार्टमा अभिनय गरेका अभिनेता द्वय दयाहाङ राई र अनुप विक्रम शाहीसँग मौखिक सहमती पनि भएको थियो । छायाँकारदेखि प्राविधिकसम्म सबै कन्फर्म गरिसकेका थिए, चाम्सले । तर, अन्तिम समयमा दया र अनुपले चलचित्र केही समय पछाडि सार्न आग्रह गरे, जुन मान्न चाम्स तयार भएनन् ।

उनले लेखक प्रदीप भारद्वाजलाई नयाँ कथा लेख्न लगाए । डेढ महिनामा नयाँ कथा तयार भएपछि उनले चलचित्र ‘बीर विक्रम २’ घोषणा गरे । चलचित्रमा पल शाह, नाजिर हुसेन र वर्षा सिवाकोटी लिड रोलमा छन् । पलले बीर र नाजिरले विक्रमको भूमिका निभाएका छन् । हालै एक भेटमा निर्देशक चाम्सले ‘बीर विक्रम २’ को सिक्वेलको कथा अझै आफूसँग सुरक्षित रहेको बताए ।

उनी भन्छन्, ‘मेरो नराम्रो दुश्मन भनेकै समयमा चल्न नसक्नेहरु हुन् । उहाँहरु (दयाहाङ राई र अनुप विक्रम शाही) वचन दिएको समयमा चल्न सक्नुभएन । उहाँहरुले केही पछाडि गरौं भन्न थाल्नुभयो । मैले उहाँलाई कुर्न सकिन र नयाँ कथामा ‘बीर विक्रम २’ बनाएँ ।’ ‘बीर विक्रम २’ दोस्तीयारीकै कथामा बनेको भएता पनि पहिलो पार्टसँग ‘डिएनए’ नमिल्ने उनको भनाई छ ।

दयाहाङ र अनुपले ‘बीर विक्रम’ को सिक्वेल गर्न तयार भएको खण्डमा बन्ने सम्भावना छ ? भन्ने पत्रकारको प्रश्नको जवाफमा उनले अहिले नेपाली चलचित्रको अवस्था खस्किँदै गइरहेको र केही सुधार भएको खण्डमा बन्न सक्ने बताए । ‘बीर विक्रम’ मा अभिनय गरेका कलाकारमध्ये दोस्रो सिरिजमा अभिनेता नाजिर मात्र दोहोरिएका छन् ।

नाजिरलाई मात्र दोहोर्‍याउनुको कारणबारे चाम्स भन्छन्, ‘उसलाई पहिला लिँदा लुखुरे थियो । च्याउसे थियो । अहिले जिम गएर बड्डी बनाएको छ । परिपक्वता पनि आएको छ । अभिनय पनि निकै निखारिएको छ । उसलाई विक्रमको भूमिका सुहाउँछ भन्ने लागेर दोहोर्‍याएको हुँ ।’ उनले ‘बीर विक्रम २’ मा दर्शकलाई दयाहाङ र अनुपको अभाव महशुस नहुने पनि बताए ।

SHARE THIS CONTENT

Leave A Response