अर्पण र सुरक्षाको ‘घर’ ट्रेलर रिलिज (भिडियो)

साउन ३ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको अर्पण थापा निर्देशित चलचित्र ‘घर’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा एक घरभित्र हुने भुत-प्रेतको कथा देखाइएको छ । अभिनेत्री सुरक्षा पन्तले यस चलचित्रमा अभिनेता तथा निर्देशक अर्पणको श्रीमतिको भूमिका निभाएकी छन् । भने, अर्की अभिनेत्री बेनिशा हमाल भुतको भूमिकामा रहेको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ ।

ट्रेलरमा उनको र अर्पणको बेडसिन पनि समावेश गरिएको छ । चलचित्रलाई शर्मिला पाण्डेलले निर्माण गरेकी हुन् । भर्खर किनेको नयाँ घरमा बसेका श्रीमान्-श्रीमतीले भोगेको आत्मासँगको कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ । चलचित्रलाई डीएस डिजिटलको ब्यानरमा निर्माण गरिएको हो ।


‘घर’ को कथा निर्देशक थापा स्वयंको हो । अभिनयमा आफूलाई अब्बल प्रमाणित गरिसकेका उनी निर्देशकको रुपमा पनि आफूलाई स्थापित गर्न संघर्षरत छन् । उनले यसअघि हरर जनराकै चलचित्र ‘सुनकेशरी’ बनाएका थिए । नेपालमा विरलै बन्ने र चल्ने हरर जनराको चलचित्रमा लगातार जोखिम मोलिरहेका अर्पणले ‘घर’ बाट निकै ठूलो आशा बोकेका छन् ।

निरज कँडेलले चलचित्र खिचेका हुन् । सुरज पाण्डे प्रस्तुतकर्ता रहेको चलचित्रमा अस्मिता खनाल, सरोज अर्याल, सृष्टि महर्जन र विकास खनालको पनि प्रमुख भूमिका रहेको छ । मिलन श्रेष्ठले चलचित्रको सम्पादन गरेका छन् । सन्तोष अधिकारी यस चलचित्रका सह-निर्माताको रुपमा रहेका छन् । सूर्य ठोकरको द्वन्द्व रहेको ‘घर’ लाई डिएस डिजिटल र एफडि कम्पनीले वितरण गर्दैछन् ।

ट्रेलर हेर्नुहोस् :- 

SHARE THIS CONTENT

Leave A Response