‘मिस्टर नेपाली’ मा भुवन र रीमाले गरे बिहे

अभिनेता भुवन केसी र अभिनेत्री रीमान विश्वकर्माले हाल नवलपरासीमा छायांकनरत चलचित्र ‘मिस्टर नेपाली’ का लागि विवाह गरेका छन् । यस चलचित्रमा अभिनेता भुवन दोहोरो भूमिकामा देखिँदैछन् । पिता र छोराको भूमिकामा उनी प्रस्तुत हुँदैछन् । उनको जोडीको रुपमा अभिनेत्री रीमा छिन् । बिहीवार चलचित्रका लागि रीमा र भुवनले विवाहको दृश्य दिएका हुन् ।

दुईको रिल विवाहका लागि निर्माण टिमले आकर्षक मण्डप तयार गरेको छ । भने, भुवन र रीमा दुलहा-दुलहीको पहिरनमा निकै सुन्दर देखिएका छन् । प्राप्त तश्बिरमा विवाहको मण्डपमा दुईलाई निकै खुसी मुद्रामा देख्न सकिन्छ । उनीहरुले पहिलो पटक स्क्रिन साझेदारी गरेका हुन् । ‘मिस्टर नेपाली’ मा भुवन र रीमा श्रीमान्-श्रीमतीको भूमिकामा देखिने प्राप्त तश्बिरबाट स्पष्ट हुन्छ ।


देव भुषालको डेब्यू निर्देशन रहेको चलचित्रमा प्रेमराज दाहालको लगानी छ । चलचित्रलाई निरज कँडेलले खिचिरहेका छन् । कमलमणी नेपाल, विष्णु सापकोटा, नन्दु श्रीवास्तव, सुरेन्द्र केसीलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहनेछ । साहिल श्रेष्ठ र कुशुम राउतले यो चलचित्रबाट डेब्यू गर्दैछन् । चलचित्रका गीतमा दीपक शर्मा र सुभाष भुषालले संगीत भरेका छन् ।

चलचित्रमा हिमाल केसीको द्वन्द्व रहनेछ । कविराज गहतराजले चलचित्रका गीतमा कोरियोग्राफी गर्नेछन् । यस चलचित्रमा विदेशमा बस्ने नेपालीले आफ्नो देशलाई गर्ने प्रेम देखाइने निर्देशक भुषाल बताउँछन् । चलचित्रको कथा पनि उनकै हो । ‘मिस्टर नेपाली’ को छायांकन स्थलबाट भुवन र रीमा दुलहा-दुलही भएको तश्बिर बाहिरिएसँगै दर्शकमा चलचित्रप्रति निकै कौतुहलता बढेको छ ।

SHARE THIS CONTENT

Leave A Response