‘भारत’ चार दिनमै सय करोड क्लबमा

बलिउड सुपरस्टार सलमान खान अभिनीत चलचित्र ‘भारत’ ले प्रदर्शनको चार दिनमा सय करोडको आँकडा पार गरेको छ । यो चलचित्रले पहिलो दिन ४२ करोड ३० लाखको व्यापार गरेको थियो । दोस्रो दिन ३१ करोड र तेस्रो दिन २२ करोड २० लाखको व्यापार गरेको छ । चौथो दिन पनि चलचित्रले बक्सअफिसमा आफ्नो दबदबा कायमै राख्यो । चौथो दिन चलचित्रले २६ करोड ७० लाख छापेको छ ।

ट्रेड एनालिस्ट तरुण आदर्शले ट्वीटमार्फत् चलचित्रले प्रदर्शनको चार दिनमा भारतबाट मात्र कुल १ सय २२ करोड २० लाखको व्यापार गरेको जानकारी गराएका छन् । यो चलचित्रसँगै सय करोड क्लबमा सबैभन्दा धेरै चलचित्र सलमानको भएको छ । उनको १४ वटा चलचित्र सय करोड कमाएका छन् । यसमा तीन सय करोड कमाउने चलचित्र तीनवटा छन् ।


‘भारत’ ले आफ्नो एक्सटेन्डेड विकेन्डमा बक्सअफिसमा १ सय ५० करोडभन्दा बढी व्यापार गर्ने अनुमान ट्रेड एनालिस्ट अमूल मोहनको छ । उनले भनेका छन्, ‘पाँच दिनको यो एक्सटेन्डेड विकेन्डमा चलचित्रलाई जे मुश्किल देखिएको छ त्यो भनेको वर्ल्ड कप म्याच हो । आइतबार भारत र अस्ट्रेलियाको एक ठूलो म्याच छ । यसले चलचित्रको व्यापारमा असर पुग्न सक्छ ।’

चलचित्र ‘भारत’ सलमानको उत्कृष्ट फिल्म मध्येको एक मानिएको छ । यसमा उनीसँगै कटरीना कैफ, दिशा पाटनी, सुनील ग्रोवर, नोरा फतेही, ज्याकी श्राफ र सोनाली कुलकर्णी मुख्य भूमिकामा छन् । चलचित्र ५ जूनमा इदको अवसरमा प्रदर्शनमा आएको हो । चलचित्र भारतमा मात्र ४ हजार ७ सय बढी स्क्रिनमा रिलिज भएको छ । उक्त चलचित्रलाई क्रिटिक्स र दर्शकले निकै रुचाएका छन् ।

SHARE THIS CONTENT

Leave A Response