‘मारुनी’ गीत ‘जाम्न माया जाम’ सार्वजनिक (भिडियो)

भदौ १३ गतेबाट मुलुकभर प्रदर्शनमा आउन लागेको नवल नेपाल निर्देशित चलचित्र ‘मारुनी’ को ‘जाम्न माया जाम’ बोलको गीत सार्वजनिक भएको छ । ‘मनमगन’ गायक दिपक बज्रचार्यको स्वर रहेको गीतमा रिक्की शाक्यको शब्द छ । गीतमा गायक बज्राचार्य स्वयंको संगीत छ । गीतको भिडियोमा चलचित्रकी लिड अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता पुष्प खड्का फिचर्ड छन् ।

मंगलवार राजधानीमा एक कार्यक्रमका बीच ‘जाम्न माया जाम’ गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा प्रविन सिंहको कोरियोग्राफीमा पुष्प र साम्राज्ञीले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । यस गीतबाट पुष्पले आफूलाई राम्रो नृत्य गर्न आउने अभिनेताको रुपमा पनि चिनाएका छन् । पहिलो पटक डान्सिङ गीतमा कम्मर मर्काएकी साम्राज्ञीले यस गीतमा नृत्य गर्न निकै गाह्रो भएको बताइन् ।


उनी भन्छिन्, ‘मैले प्रायः रोमान्टिक गीतहरु गरिरहेको थिएँ । पहिलो पटक डान्सिङ गीत गरेकी हुन् । केही डान्स स्टेपहरु टिप्न मलाई निकै गाह्रो भएको थियो । यद्यपि, राम्रो दिने प्रयास भने गरेको छु ।’ अभिनेता पुष्पले भने आफूले अहिलेसम्म नगरेको तर गर्न मन लागेको डान्स स्टेपमा नृत्य प्रस्तुत गर्न पाउँदा खुसी महशुस भएको बताए । दुबैले चलचित्रमा फरक भूमिका निभाएको पनि बताए ।


‘मारुनी’ लाई लिएर उत्साहित रहेका पुष्प र साम्राज्ञीले पहिलो पटक चलचित्रमा काम गरेका हुन् । उनीहरु एकअर्कासँग काम गर्न सहज भएको पनि बताउँछन् । यसमा अभिनेत्री रेविका गुरुङको पनि प्रमुख भूमिका छ ।

निर्देशक नेपाल भन्छन्, ‘हामीले दर्शकको मनछुने चलचित्र बनाउने प्रयास गरेका छौं । राम्रा/नराम्रो दुबै प्रकारका प्रतिक्रिया सुन्न हामी तयार छौं । दर्शकलाई एउटा विश्वास चाहिँ के दिलाउन चाहन्छु भने फिल्मले निराश बनाउँदैन ।’पुनम गौतमले निर्माण गरेको चलचित्रमा सह-निर्मातामा राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री छन् । गोविन्द फुँँयाल र निर्देशक नेपालले चलचित्रको कथा लेखेका हुन् ।

भिडियो :-

SHARE THIS CONTENT

Leave A Response