आयो ‘कबड्डी कबड्डी कबड्डी’ को टीजर (भिडियो)

भाद्र १३ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै निर्देशक रामबाबु गुरुङ निर्देशित हिट फिल्म ‘कबड्डी’ को तेस्रो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’ को टीजर सार्वजनिक भएको छ । सार्वजनिक १ मिनेट २९ सकेण्ड छोटो टीजर रमाइलो छ । दोस्रो पार्ट जहाँ अन्त्य भएको थियो तेस्रो सिक्वेल त्यहीँबाट सुरु हुने टीजरले प्रस्ट्याउँछ । टीजरले दर्शकको ध्यान तान्न सक्छ ।

टीजरको सुरुवातमा अभिनेता दयाहाङ राई (काजी) ‘मैयाँ’ उर्फ रिश्मा गुरुङको फोटो हेरेर टुलाइरहेका छन् । उनको साथमा विजय बराल छन् । फिल्ममा फ्रेस रोलमा इन्ट्री भएकी ‘क्याप्टेन’ गर्ल उपासना सिंह ठकुरीसँग दयाहाङसँगको प्रेम र रोमान्सलाई टीजरमा विशेष स्थान दिइएको छ । तर, टीजरको अन्तिम दृश्यले भने कन्फ्यूज बनाउन सक्छ । टीजरमा फिल्मप्रति दर्शकमा उत्सुकता जगाउने ल्याकत देखिन्छ ।

फिल्ममा थुप्रै नाम चलेका कलाकार भए पनि दया, उपासना र विजयभन्दा अरुले टीजरमा स्थान पाएका छैनन् । यो फिल्मको अघिल्ला दुई श्रृंखला सुपरहिट भएका कारण ‘कबड्डी कबड्डी कबड्डी’ को दर्शकमा व्यग्र प्रतिक्षा छ । स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा आधारित भएर फिल्म निर्माण भएको हो । यसको कथा निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् ।

बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् । फिल्ममा कर्मा, रिश्मा गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, लुनिभा तुलाधर, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ । यसको सम्पादन निमेश श्रेष्ठले गरिरहेका छन् ।

टीजर हेर्नुहोस् :-

SHARE THIS CONTENT

Leave A Response