‘हजार जुनीसम्म’ को गीतमा दीपाश्री र आर्यनको नृत्य (फोटोसहित)

‘नाईं नभन्नू ल’ सिरिजका निर्देशक विकासराज आचार्य निर्देशित नयाँ चलचित्र ‘हजार जुनीसम्म’ पूर्वघोषित मिति साउन ३० बााट एक हप्ता सरेर भदौ ६ मा पुगेको छ । पूर्वघोषित मितिमा साउथ सुपरस्टार प्रभास अभिनीत फिल्म ‘साहो’ आउने भएपछि यो चलचित्र एक हप्ता पछाडि सरेको हो । चाँडै यसको निर्माण टिमले दोस्रो गीत सार्वजनिक गर्दैछ ।

दोस्रो गीतमा निर्देशक तथा कलाकार दीपाश्री निरौला र चकलेटी ब्वाई आर्यन सिग्देललाई देख्न सकिनेछ । दुईको नृत्य रहेको गीतको केही अचल तश्विरहरु निर्माण टिमले सार्वजनिक गरेको छ । प्राप्त तश्विरमा आर्यन र दीपालाई नृत्य गरिरहेको देख्न सकिन्छ । गीतमा शिवहरी पौडेल पनि फिचर्ड छन् । दीपाश्री गीतमा भट्टी साहुनीको भूमिकामा छिन् । उनी पहिलो पटक आइटम गीतमा देखिन लागेकी हुन् ।

‘आज नगद भोली उधारो’ बोलको गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का, नव-नायक अक्की प्रधान, उत्तम केसीलगायतलाई पनि देख्न सकिनेछ । कविराज गहतराजले कोरियोग्राफी रहेको गीतलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् । केही दिनमा उक्त गीत युट्युब रिलिज हुनेछ । बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा प्रल्हाद तिमिल्सिना, मिना निरौला र दीपाश्रीको स्वर छ ।

यो चलचित्रको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । उनलाई निर्देशक आचार्यले सघाएका छन् । चलचित्रमा संचिता लुइँटेल, प्रियंका कार्की, अनुभव रेग्मी, सलोन बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय छ । यसमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत र अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी चलचित्रकी कार्यकारी निर्माता हुन् भने यसमा विशाल चाम्लिङ निर्मातामा छन् ।

SHARE THIS CONTENT

Leave A Response