‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाको जोडी, मनकामनामा मुहूर्त

दुई वर्ष अगाडिको हिट चलचित्र ‘म यस्तो गीत गाउँछु’ को सिक्वेलमा पुनः अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाहको जोडी बाँधिएको छ । निर्देशक सुदर्शन थापा र अभिनेता पलको सम्बन्ध विग्रिएपछि ‘म यस्तो गीत गाउँछु २’ नबन्न नसकेको चर्चा लामो समयदेखि फिल्मवृतमा चल्दै आएको थियो । निर्देशक थापाले अभिनेता अनमोल केसीलाई यो चलचित्र अफर गरेको खबर समेत बाहिरिएको थियो ।

अन्ततः बजारका सबै हल्लाहरुलाई चिर्दै दोस्रो पटक निर्देशक थापाले ‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाको जोडी बाँधेका छन् । मंगलबार बिहान चलचित्रको मनकामना मन्दिरमा शुभ मुहूर्त गरिएको छ । मुहूर्त समारोहमा निर्देशक थापा, अभिनेत्री शर्मा र अभिनेता पल उपस्थिति थिए । दशैंपछि चलचित्रको छायांकन सुरु हुने बताइएको छ । यो चलचित्रको गीतमा संगीत भर्ने जिम्मा अर्जुन पोखरेलको काँधमा छ । ‘प्रेमगीत’ पछि सुदर्शनको हरेक चलचित्रमा अर्जुनले संगीत भर्दै आएका छन् ।


चलचित्रलाई सौरभ लामाले खिच्नेछन् । पूजा र पलबाहेक फिल्ममा अरु कलाकार फाइनल नभएको निर्देशक सुदर्शन थापाले जानकारी दिए । उनले ‘म यस्तो गीत गाउँछु २’ को घोषणा गएको दुई वर्ष अगाडि आफ्नो जन्मदिनमा गरेका थिए । त्यसबेला चलचित्रमा पल र पूजासँगै सलोन बस्नेतको पनि अभिनय रहने बताइएको थियो । तर, चलचित्रको मुहूर्त समारोहमा सलोन देखिएनन् । सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा यो चलचित्र बन्नेछ ।

निर्देशक सुदर्शन थापाले ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल नयाँ कथामा बन्ने बताएका छन् । चलचित्र लभस्टोरी कथामा निर्माण हुनेछ । आउँदो फागुन २३ गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको छ । यो चलचित्रको अघिल्लो श्रृंखलाको गीतसंगीत निकै चर्चित भएका थिए । पल र पूजाको जोडीलाई पनि दर्शकले निकै रुचाएका थिए । अब, दोस्रो पटक दुईलाई पर्दामा हेर्न निकै रोचक हुने देखिन्छ । चलचित्रको मुहूर्त समारोहमा दुईबीच गजबकै आत्मीयता देखिएको थियो ।

SHARE THIS CONTENT

Leave A Response