छायाँकार आलोक भन्छन्, ‘नेपालमा छायाँकारको भविष्य राम्रो छ’

छायाँकार आलोक शुक्ला अहिले नेपाली चलचित्रका डिमान्डेड छायाँकार मध्येका एक हुन् । सन् २००४ मा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (एफटीआईआई) मा चार वर्ष ‘सिनेम्याट्रोग्राफी’ को कोर्ष लिएका उनले निर्माता सुनिल रावलको चलचित्र ‘लाउरे’ बाट नेपाली फिल्ममा औपचारिक रुपमा छायाँकारको रुपमा प्रवेश गरेका थिए । यद्यपि, यो चलचित्र अहिलेसम्म प्रदर्शनमा आउन सकेको छैन । उनीसँग दर्जन बढी बलिउड र मराठी चलचित्रमा सहायक छायाँकारको रुपमा काम गरेको पनि अनुभव छ ।

उनी खासमा मुम्बईबाट नेपाल एक सर्ट फिल्म खिच्न आएका थिए । ‘अस्कर कलेजमा पढ्ने साथीको एक सर्ट फिल्म खिच्न नेपाल आएको थिएँ । त्यही बेला कहाँबाट सुनिल (रावल) दाईले थाहा पाउनुभएछ । अनि, मलाई उहाँले चलचित्र ‘लाउरे’ खिच्ने अवसर दिनुभयो । तर, त्यो चलचित्र प्रदर्शनमा आउन सकेन’, नेपालको नवलपरासीमा जन्मिएका उनले एक भेटमा भने- ‘‘लाउरे’ खिचेपछि म मुम्बई फर्किने तयारीमा थिएँ । त्यही बेला चलचित्र ‘अमेरिका बोइज’ को अफर आयो ।’’

‘अमेरिका बोइज’ खिचेपछि उनी पुनः मुम्बई फर्किने सोचमा थिए । मुम्बईका लागि टिकट समेत काटिसकेका थिए । तर, दोस्रो पटक पनि उनको मुम्बई लम्किन लागेको पाइला रोकियो । निर्माता गोविन्द शाहीले चलचित्र ‘लभ स्टेशन’ खिच्न आग्रह गरे । ‘म ‘लभ स्टेशन’ खिचुँ वा मुम्बई जाउँ भन्नेमा दोधारमा थिएँ । केही साथी-भाईले स्टार (प्रदीप खड्का) को चलचित्र नछाड भनेपछि मेरो मुम्बई जाने प्लान रद्द भयो । त्यसपछि मुम्बई जाने सोच आएको छैन’, उनी सुनिए ।

उनमा पटक-पटक मुम्बई फर्किने सोच पलाउनुको कारण नेपालमा पर्याप्य इक्यिूपमेन्ट नहुनु हो । ‘मलाई इन्डियाको जस्तो लाइट्स चाहिन्छ । त्यो भएन भने मलाई कामै गर्न मन लाग्दैन । ‘एफटीआईआई’ मा पढेर आएको मान्छेले खिचेको चलचित्रमा क्वालिटी भएन भने नाम बदनाम हुन्छ । म ‘कम्प्रमाइज’ गरेर काम गर्न चाहन्नँ । त्यसैले मुम्बई फर्किन लागेको थिएँ’, उनले निर्धक्क भने । उनी चलचित्रमा क्वालिटीका लागि नेपाली निर्मातालाई लाइट्स थप्न ‘कम्प्रमाइज’ नगर्न आग्रह गर्दछ ।


उनी इक्यिूपमेन्ट पर्याप्त उपलब्ध गराए आफू कम पारिश्रमिकमा पनि काम गर्न तयार रहेको बताउँछन् । चलचित्रको निर्माण टिमले इक्यिूपमेन्ट पर्याप्त दिए आफू आधा पारिश्रमिकमा पनि काम गर्न तयार रहेको उनको भनाई छ । इक्यिूपमेन्ट राम्रो नभएसम्म उत्पादन राम्रो ननिस्कने उनी ठोकुवा गर्छन् । चलचित्र राम्रो/नराम्रो बन्नमा छायाँकारको हात महत्त्वपूर्ण रहने पनि छायाँकार शुक्लाको जिकिर छ ।

‘चलचित्र भनेको टिमवर्क हो । स्पोर्ट ब्वाईदेखि कलाकार, निर्देशक, छायाँकार सबैले शतप्रतिशत दियो भने मात्र फिल्म राम्रो बन्ने हो । एक्लैको भरमा फिल्म बन्नै सक्दैन’, उनी अगाडि भन्छन्, ‘निर्देशकको सोचाईलाई दृश्यभाषामा उतार्ने काम छायाँकार हो । यदी छायाँकारले त्यसमा हेलचेक्राइ गर्छ भने चलचित्र विग्रन्छ ।’ उनी निर्देशक र छायाँकारबीच ‘सट डिभिजन’ को विषयमा छलफल हुनु पर्ने तर्क राख्छन् । ‘जबसम्म निर्देशकले प्रत्येक ‘सट’ को अर्थ बुझ्दैन तबसम्म चलचित्र राम्रो बन्दै बन्दैन’, उनले भने ।

छायाँकार आलोक शुक्ला छायाँकारको भविष्य नेपालमा राम्रो रहेको पनि बताउँछन् । उनी भन्छन्, ‘पहिला के थियो मलाई थाहा भएन । म २ वर्ष नेपालमा रहँदा राम्रो काम गर्‍यो भने छायाँकार भएरै जीविकोपार्जन गर्न गाह्रो छैन । अहिले पारिश्रमिक पनि निकै राम्रो पाइन्छ ।’ उनी छायाँकारलाई पारिश्रमिक जति पाए पनि इमान्दारपूर्वक काम गर्न सुझाव दिँदै भन्छन्, ‘हाम्रो नेपाली फिल्म इन्टष्ट्रीलाई अलि माथि लैजानु छ । त्यसैले केही नयाँ गरौं । ७० को दशकमा जस्तो काम नगरौं ।’

उनी आफैं पनि चाँडै चलचित्र निर्देशनमा होमिने सोचमा छन् । उनको दिमागमा चलचित्रका लागि कथाको जन्म पनि भइसकेको छ । नेपालको तराई क्षेत्रमा बसोबास गर्ने मधेशी समुदायको कथाव्यथामा आधारित एक डकुमेन्ट्री समेत बनाइसकेका उनी बैदेशिक रोजगारीले निम्त्याएको सामाजिक र पारिवारिक समस्यामा केन्द्रित रहेर आफ्नै निर्देशनमा चलचित्र बनाउने उनको तयारी छ । उनले छायांकन रहेको चौथो चलचित्र ‘सानो मन’ यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।

SHARE THIS CONTENT

Leave A Response