‘झिँगेदाउ’ मा केकी र मुकुनको जोडी

पुराना निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्न लागेको चलचित्र ‘झिँगेदाउ’ मा अभिनेत्री केकी अधिकारी र गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बुलबुल’ मा जीवन्त अभिनय पस्किएका चोपेन्द्र उर्फ मुकुन भुषालको जोडी बाँधिएको छ । यो चलचित्रमा अभिनेत्री केकी केही दिन अगाडि भित्रिएकी हुन् । मुकुन भने गएको महिना नै अनुबन्ध भएका थिए ।

चलचित्रमा धेरै मेहनत र जीवन्त अभिनय गर्ने कलाकार चाहिएकाले केकी र मुकुनलाई लिएको निर्देशक देउजाले बताएका छन् । बाँकी कलाकारको छनोट कार्य भइरहेको उनले बताए । साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित भएर ‘झिँगेदाउ’ निर्माण हुन लागेको हो । भदौबाट चलचित्रको छायांकन सुरु हुनेछ ।


कपन गढी सिनेमा प्रा.लिको ब्यानरमा निर्माण हुने चलचित्रलाई निर्देशक ज्ञानेन्द्र स्वयंले निर्माण गर्दैछन् । सिन्धुली, खोटाङ, दोलखा र काठमाडौंमा छायांकन हुने चलचित्रको टाइटल लोगो निर्माण टिमले यसअघि नै सार्वजनिक गरिसकेको छ । विष्णु कल्पितले खिच्ने चलचित्रमा पासाङ टी शेर्पा कला निर्देशकको रुपमा रहेका छन् ।

चलचित्रका गीतमा संगीत भर्ने जिम्मेवारी अर्जुन पोखरेलको काँधमा छ । पटकथा एवं संवाद प्रदीप भारद्धाजले तयार पारेका छन् । एक जमाना एकसेएक हिट चलचित्र दिएका निर्देशक हुन्, ज्ञानेन्द्र । ‘रक्षक’, ‘करुक्षेत्र’, ‘देवर बाबु’, ‘हामी ट्याक्सी ड्राइभर’ लगायतका चलचित्र निर्देशन गरिसकेका उनी फिल्म ‘वुद्ध वर्न इन नेपाल’ पछि निर्देशनमा फर्किएका हुन् ।

SHARE THIS CONTENT

Leave A Response