शिल्पाले दिइन् छविविरुद्ध घरेलु हिंसाको उजुरी

अभिनेत्री शिल्पा पोखरेलले श्रीमान् तथा नेपाली चलचित्रका निर्माता छविराज ओझाविरुद्ध घरेलु हिंसाको उजुरी दिएकी छन् । शिल्पाले गएको तीन दिन अगाडि काठमाडौं प्रहरी परिसरमा आफूमाथि श्रीमान् ओझाले घरेलु हिंसा गरेको भन्दै उजुरी दिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

दुबैलाई प्रहरीले बुधबार छलफलका लागि बोलाएको थियो । तर, निर्माता ओझा विरामी परेपछि बिहीबार (भोली) दिउँसो दुईलाई प्रहरी परिसरमा बोलाइएको जानकारी प्राप्त छ । केही समययता दुईको बैबाहिक जीवनमा दरार उत्पन्न भएको निकट स्रोतले बताएको छ । सम्बन्धमा खटपट हुनुको कारण भने खुल्न सकेको छैन ।


स्रोतका अनुसार, शिल्पाले छविसँग डिभोर्स मागेकी छन् । तर, यस विषयमा बुझ्न खोज्दा छवि र शिल्पा दुबैसँग फोन सम्पर्क हुन सकेन । दुईले गोप्य रुपमा समस्या सुल्ट्याउन चाहेका छन् । गएको तीन वर्ष अगाडि शिल्पा र छविले काठमाडौंको गोकर्ण रिसोर्टमा सुटुक्क लगनगाँठो कसेका थिए ।

अभिनेत्री रेखा थापासँग अलगिएपछि छविले शिल्पासँग विवाह गरेका हुन् । तर, विवाह गरेको लामो समयसम्म दुईले यो कुरा सार्वजनिक गरेका थिएनन् । गत वर्ष अभिनेत्री रेखाले एक स्मारिकमा लेख लेख्दै शिल्पा र छविको विवाह भइसकेको खुलाएकी थिइन् । पछि छविले पनि स्वीकार गरेका थिए ।

एकसेएक सुपरहिट फिल्म दिएका छविले शिल्पालाई चलचित्र ‘लज्जा’ बाट नेपाली चलचित्रमा डेब्यू गराएका थिए । त्यसअघि शिल्पा म्यूजिक भिडियोमा व्यस्त थिइन् । डेब्यू फिल्मपछि उनी छविराज प्रोडक्सनको ब्यानरबाट निर्माण हुने कुनै चलचित्रमा छुटेकी छैनन् । छवि निर्मित तथा शिल्पा अभिनीत पछिल्लो चलचित्र ‘मंगलम’ हो ।

SHARE THIS CONTENT

Leave A Response