छवि र शिल्पाबीच सहमति

अभिनेत्री शिल्पा पोखरेल र फिल्म निर्माता छविराज ओझाबीच सहमति भएको छ । गएको चार दिन अगाडि अभिनेत्री शिल्पाले श्रीमान् ओझाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौं, टेकुमा आफ्नो शान्ति सुरक्षाको माग गर्दै उजुरी दिएकी थिइन् । बिहीबार प्रहरी परिसरले दुबैलाई बोलाएर अब झगडा नगर्ने गरि सहमति पत्रमा हस्ताक्षर गराएको छ । दुईलाई बुधबार बोलाइएको भए पनि छविराज विरामी हुँदा छलफल हुन सकेको थिएन ।

परिसरका प्रवक्ता होबिन्द्र बोगटीले दुईबीच अब कहिल्यै झगडा नगर्ने सहमति भएको बताएका छन् । उनले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै भने- ‘केही दिन अगाडि शिल्पा पोखरेलले शान्ति सुरक्षाको माग गर्दै उजुरी दिनुभएकोे थियो । बिहीबार हामीले दुबै पक्षलाई राखेर सहमति गराएका छौं । अब कहिल्यै झगडा नगर्ने भनेर उहाँहरुले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ ।’


प्रवक्ता बोगटीले सँगै बस्ने वा नबस्ने शिल्पा र छविराजको व्यक्तिगत कुरा रहेको बताए । गएको तीन वर्ष अगाडि छविराजले चौथो श्रीमातीको रुपमा अभिनेत्री शिल्पालाई घर भित्राएका थिए । गएको ६ महिना अगाडि मात्र दुईको विवाह दर्ता भएको थियो । तर, विवाह भएको लामो समयसम्म यो कुरा दुबैले गोप्य राखेका थिए । गत वर्ष छवि स्वयंले आफूहरु बैबाहिक जीवनमा बाँधिएको र सँगै बस्दै आएको खुलाएका थिए ।

बुधबार दिउँसो शिल्पाले छविविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएको खबर बाहिरिएको थियो । छविले आफूलाई हातपात गरेको र कानको जालीसमेत फुटेको दाबी शिल्पाको छ । तर, यो कुरा स्वीकार गर्न तयार छैनन् छवि । सामान्य घरायसी विषयमा झगडा भएको उनको भनाई छ । तर, उनी कुटाकुट नभएको दाबी गर्छन् । गएको १५ दिनदेखि शिल्पा फोटोग्राफर विकास रौनियार (शिल्पाले बनाएको दाई) को घरमा बस्दै आएकी छन् ।

SHARE THIS CONTENT

Leave A Response