मिरुना र नीताको ‘साइनो’ ट्रेलर सार्वजनिक (भिडियो)

साउन २४ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘साइनो’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमार्फत् चलचित्रको मूल कथा प्रस्ट्याउन खोजिएको छ । नेपालकी प्रथम नायिका भुवन चन्द थापा निर्मित चलचित्रले त्रिकोणात्मक प्रेमकथा वाचन गर्ने ट्रेलरबाट अनुमान काट्न गाह्रो पर्दैन ।

ट्रेलर हेर्दा चलचित्रमा अभिनेत्री मिरुना मगरको भूमिका बलशाली देखिन्छ । चलचित्रमा नव-अभिनेता राजकुमार र अभिनेत्री नीता ढुंगानाको पनि प्रमुख भूमिका छ । मिरुना र नीतासँग राजकुमारको प्रेम र रोमान्सलाई ट्रेलरमा विशेष स्थान दिइएको छ । चलचित्रमा प्रेममा जातिय मसला घुसाइएको छ । चलचित्रका निर्देशक रमेश थापा हुन् ।

चलचित्रको कार्यकारी निर्मातामा शरण थापा छन् । अभिमन्यू ‘निरवी’ ले चलचित्रको कथा तयार पारेका हुन् । निर्देशक थापाले ‘साइनो’ मा लभस्टोरीसँगै देशमा प्रमुख समस्याको रुपमा रहेका विषयलाई उठाइएको बताए । अभिनेत्री मिरुनाले चलचित्रबाट आफू निकै आशावादी रहेको बताइन् । उनी अभिनीत पछिल्लो चलचित्र ‘रोज’ हो ।

चलचित्रमा भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनालीलगायतका कलाकारहरुको पनि अभिनय छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्र ‘साइनो’ रामेश्वर कार्कीले खिचेका हुन् । बनिश शाहको काँधमा सम्पादनको जिम्मेवारी छ । चलचित्रमा रोशन विक्रम भट्टराईको द्वन्द्व रहेको छ ।

भिडियो :-

SHARE THIS CONTENT

Leave A Response