अनमोलको चलचित्रमा भिलेन बन्दै भुवन

केही दिनयता अभिनेता भुवन केसीलाई हल्का फुलेको दाह्री र जुँगामा देख्न सकिन्छ । यसअघि उनलाई गाह्रीमा निकै कम देखिएको थियो । सधैं सफाचट भएर हिँड्न रुचाउँछन्, उनी । धेरैले उनले फुलेको दाह्री सजाउनुको रहस्य जान्न चाहेका छन् । उमेरले ५० नाघे पनि अझै ३०-३२ वर्षको जवान लाग्ने उनले कतै अब आफू बुढ्यौलीतिर ढल्किँदै गएको देखाउन त खोजेका होइनन् ?

तर, अभिनेता भुवनले फुलेको दाह्री नकाट्नुको कारण एक नयाँ चलचित्रका लागि हो । गत वर्षको फागुनमा रिलिज भएको चलचित्र ‘क्याप्टेन’ पछि उनी फेरि होम प्रोडक्सनको ब्यानरमा नयाँ चलचित्र निर्माण गर्दैछन्, जसमा अहिलेका जल्दाबल्दा अभिनेता अनमोल केसीको प्रमुख भूमिका रहनेछ । यसको केही समयदेखि स्क्रिप्टमा काम चलिरहेको छ । सम्भवतः दशैंपछि चलचित्रको छायांकन सुरु हुनेछ । चलचित्रलाई उनी आफैंले निर्देशन गर्न सम्भावना प्रवल छ ।

एक समय भुवन अभिनीत चलचित्र हेरेर धेरैले प्रेम गर्न सिकेका थिए । तर, करीब ७ वर्षदेखि उनी अभिनयबाट टाढा छन् । छोरा अनमोलको करिअर मजबुत बनाउन दिन-रात खटिरहेका उनले यस वर्ष चलचित्र अभिनयमा कमब्याक गर्दैछन् । उनले हालै चलचित्र ‘मिस्टर नेपाली’ को छायांकन भ्याएका छन् । यसमा उनी दोहोरो भूमिकामा छन्, पिता र छोराको । दुईमध्ये एक क्यारेक्टर नेगेटिभ छ । उनी पहिलो पटक नकारात्मक भूमिकामा देखिन लागेका हुन् ।

यो चलचित्रको आइतबार राजधानीमा आयोजित इन्डक्ल्याप पार्टीमा अभिनेता भुवन केसीले फुलेको दाह्री नकाट्नुको रहस्य खोले । उनले चाँडै आफू एक चलचित्रमा भिलेनको भूमिकामा देखिन लागेका कारण दाह्री पालेको बताए । उनी भन्छन्, ‘धेरैले मलाई दाह्री किन पालेको भनेर सोधिरहेका छन् । म चाँडै नयाँ चलचित्रमा अनमोल केसीसँग पूरै नेगेटिभ रोलमा आउँदैछु । यो दाह्री अझै बढाउनु पर्ने छ ।’ उनले चलचित्रको विषय अरु जानकारी भने दिएनन् ।

लामो समयदेखि पिता र छोरा (भुवन र अनमोल) ले स्क्रिन साझेदारी गरेको हेर्ने दर्शकहरुको ठूलो इच्छा थियो । यद्यपि, भुवनले छोरा अनमोलसँग चलचित्र ‘क्याप्टेन’ को ‘कर्ली कर्ली कपाल’ र चलचित्र ‘होस्टेल’ को एक सिनमा सँगै काम भने गरेका थिए । तर, अनमोलले खेलेको चलचित्रमा अहिलेसम्म उनले प्रमुख भूमिकामा भने निभाएका छैनन् । अब, पहिलो पटक पर्दामा दुई हिरो र भिलेनको रुपमा प्रस्तुत हुने भएका छन् । चलचित्रमा छोरा र पिताको जुगलबन्दी हेर्न दर्शकलाई निकै रोचक हुने देखिन्छ ।

SHARE THIS CONTENT

Leave A Response