शिल्पालाई पत्र लेख्दै छविले भने- ‘म गान्धीबादी बन्न तयार छु’

निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको तीन वर्ष लामो बैबाहिक सम्बन्ध डिभोेर्सको अवस्थामा आइपुगेको छ । तीन वर्ष अगाडि सुटुक्क विवाह गरेको दुईले गएको ६ महिना अगाडि विवाह दर्ता गरेका थिए । शिल्पा छविकी चौथी श्रीमती हुन् । अभिनेत्री रेखा थापासँग १२ वर्ष लामो बैबाहिक सम्बन्धमा पूर्णविराम लागेपछि छविले शिल्पालाई श्रीमतीको रुपमा घर भित्राएका थिए । शिल्पाको पनि छविसँँग दोस्रो विवाह रहेको चर्चा छ ।

५५ वर्षका छवि र २५ वर्षकी शिल्पाको तीन वर्ष लामो बैबाहिक सम्बन्ध अब अगाडि बढ्न नसक्ने अवस्थामा आएर अडिएको छ । केही दिन अगाडि शिल्पाले आफूमाथि घरेलु हिंसा भएको भन्दै प्रहरी परिसरमा छविविरुद्ध उजुरी हालेकी थिइन् । उजुरी पश्चात् प्रहरीले दुबै पक्षलाई बोलाएर सहमति गराएको थियो । छवि र शिल्पा दुबैले अब कहिल्यै झगडा नगर्ने भनेर कागजी सम्झौता पनि गरे । तर, शिल्पा अब कुुनै हालतमा फेरि छविसँग नबस्ने अडानमा छिन् ।

उनले सोमबार केही भिडियो अन्तर्वार्तामा आफूले डिभोर्सका लागि केस फाइल गरिसकेको बताएकी छन् । छवि भने आफू शिल्पाकै काखमा प्राण त्याग गर्न चाहने बताउँदै मिडियामार्फत् उनलाई घर फर्किन आग्रह गरिरहेका छन् । सञ्चारमाध्यमसँग कुराकानीको क्रममा भक्कानिँदै शिल्पाले श्रीमान् ओझाबाट तीन वर्षसम्म निकै यातना सहेर बसेको, पटक-पटक मार्ने प्रयास गरेको, कानमा असर पर्ने गरि कुटपिट गरेको, कोही पुरुषसँग हाँसेर बोले विभिन्न खाले शंका र अप्रिय वचन बोल्ने गरेकोलगायतका आरोप लगाएकी छिन् ।

तर, यो मान्न तयार छैनन्, छवि । सामान्य घर झगडा हुने गरेको भएता पनि आफूले कहिल्यै शंका गरेर शिल्पामाथि कुटपिट नगरेको उनको भनाई छ । श्रीमती शिल्पाले विभिन्न आरोप लगाएपछि सोमबार साँझ फेसबुकमा लामो स्टाटस लेखेर निर्माता छविराज ओझाले आफूमाथि लगाएको आरोप छातिमा हात राखेर सोच्न आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘मैले ५२ बर्षको उमेरमा तीनजना श्रीमतीसँग सम्बन्ध बिच्छेद भइसकेपछि तपाईंसँग चाहिँ जिन्दगी बिताउन सक्छु होला भनेर जिन्दगीका सबथोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं । छातिमा हात राखेर आज एकछिनलाई आफैंलाई नढाटी सम्झनुस् तपाईंले लगाएका कति आरोपहरु सत्य छन् ?’

शिल्पाले आफूलाई सच्याएर आफ्नो बुढेसकालको सहारा भएर बस्न तयार भए आफू पनि सबै कमी-कमजोरीलाई सच्याएर गान्धीबादी भएर बस्ने छविले बताएका छन् । अरुको कुरा नसेर घर फर्किन आग्रह गर्दै उनले अगाडि लेखेका छन्, ‘आउनुस् हाम्रो घरको ढोका सधैं तपाईंको लागि खुल्ला छ । हैन र यदी तपाईं साच्चै मसँग बस्न सक्नुहुन्न भने पनि एक पटक मसँगै आएर टेबलमा कुरा गर्नुस् । मेरो इतिहास पल्टाएर हेर्नुस् आजसम्म मैले कुनै पनि श्रीमतीलाई अन्यायमा पारेको छैन ।’

निर्माता ओझाले शिल्पालाई पनि अन्यायमा नपर्ने विश्वास दिलाएका छन् । ‘मैले विगत ३ दिनदेखि तपाईंलाइ सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाईंलाई अब मेरो वकिलले भेट्छ भन्नु भयो । म फेरि पनि भन्दैछु, संसारको कुनै पनि अदालतमा जानु पर्दैन । छवि ओझाको अदालतमा सिधै आउनुस् । तपाईंले न्याय पाउनुहुन्छ’, छविले फेसबुकमा लेखेका छन् । केही दिनयता छवि र शिल्पा दुबै एकअर्काप्रति आरोप-प्रत्यारोपमा उत्रिएका छन् ।

SHARE THIS CONTENT

Leave A Response