‘हजार जुनीसम्म’ बलियो छ : सलोन बस्नेत

सहायक भूमिकामा सर्वाधिक ओजिने अभिनेता सलोन बस्नेत अभिनीत नयाँ चलचित्र ‘हजार जुनीसम्म’ यही बिहीबारबाट प्रदर्शनमा आउँदैछ । विकासराज आचार्य निर्देशित यो चलचित्रमा उनी नव-अभिनेता अखिलेस प्रधानको साथीको भूमिकामा छन् । उनको कारणले पनि दर्शकको ठूलो वर्ग हलसम्म तान्न सक्ने विश्वास निर्माण टिममा छ । त्यसैले त ट्रेलरमा उनलाई पर्याप्य ‘स्क्रिन स्पेश’ दिइएको छ ।

उनी यस चलचित्रमा आफ्नो भूमिकामा उत्ति साह्रो भिन्नता नभएको बताउँछन् । तर, आफ्नो काममा केही परिपक्वता आएको उनले महशुस गरेका छन् । ‘हजार जुनीसम्म’ अर्को एउटा ‘होस्टेल’ बन्छ कि जस्तो लागेको छ । किनकि, चलचित्र निकै बलियो छ’, उनी भन्छन्, ‘फिल्म इन्डस्ट्रीको निकै राम्रो राम्रो मान्छेसँग काम गर्ने अवसर पाएको छु । मेरो लागि यो एउटा माइलस्टोन साबित हुनसक्छ ।’

उनी आफूलाई प्रायः एकैखाले भूमिका अप्रोच हुनुको पछाडि डेब्यू चलचित्र ‘होस्टेल’ को प्रभावलाई मान्छन् । ‘मैले ‘होस्टेल’ मा जुन भूमिका निर्वाहा गरेँ त्यो सबैले मन पराउनुभयो । मलाई अझैसम्म पनि ‘जंगे’ भनेर बोलाउनुहुन्छ । दर्शकले मलाई त्यही क्यारेक्टर मन पराएका कारण मेकरले पनि त्यस्तै भूमिका अप्रोच गर्नुहुन्छ’, उनले भने । सहायक भूमिकामा जमेका उनी आफूलाई आफैं चलचित्र लिड गर्नुपर्छ भन्ने कहिल्यै नलागेको बताउँछन् ।

आफ्नो काम दर्शकले रुचाइरहेका कारण तत्काल आफूले छनोट गरेको भूमिकामा भिन्नता नआएको उनको तर्क छ । तर, उनी आफ्नो कामबाट सन्तुष्ट र खुसी रहेको बताउँछन् । विस्तारै आफूलाई परिमार्जित गर्दै लैजाने उनको सोच छ । लिड हिरोले चलचित्रमा पाउने ‘स्पेश’ ले आफूलाई कहिल्यै डाहा नलाग्ने पनि उनले बताए । ‘मैले अहिलेसम्म चलचित्रमा पछाडि परेको महशुस गरेको छैन । दर्शकले अहिलेसम्म मलाई मन पराउनुभएको छ । म त्यसैमा खुसी छु’, उनी सुनिए ।


गीतसंगीतका कारण चर्चामा रहेको ‘हजार जुनीसम्म’ मा सलोनका अलावा आर्यन सिग्देल, अनुभव रेग्मी, स्वस्तिमा खड्का, अखिलेस प्रधान, प्रियंका कार्की, सञ्चिता लुईंटेललगायतका कलाकारहरुको अभिनय छ । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । चलचित्रको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । कविता रेग्मी कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा विशाल चाम्लिङ छन् ।

SHARE THIS CONTENT

Leave A Response