२० लाख अक्षयकोष स्थापनार्थ कार्यक्रम गर्दै पर्वत कलाकार समाज

समाजसेवाको उद्देश्यसहित असोज १४ गते पहिलो पटक पर्वतका कलाकारहरु एउटै मञ्चमा देखिने भएका छन् । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने लागेको दशैं विशेष कार्यक्रम २० लाख रुपियाँको अक्षयकोष स्थापनार्थ हुन लागेको हो । कार्यक्रमलाई भब्य बनाउने तयारीमा पर्वत कलाकार समाज जुटेको छ ।

उक्त कार्यक्रमबारे पर्वत कलाकार समाजले अघिल्लो साता मात्रै विभिन्न पेशा तथा व्यवसायका अगुवाहरुसँग काठमाडौंमा छलफल पनि आयोजना गरेको थियो । कार्यक्रममा प्राप्त सुझावकै आधारमा कार्यक्रमको ढाँचा तयार पारिएको जानकारी समाजले दिएको छ । यो ऐतिहासिक कार्यक्रमले पर्वतका कलाकारलाई एक ठाउँमा ल्याउने समाजका अध्यक्ष कस्तुप पन्तले बताए ।

१ अक्टोबरका दिन एकेडमी हलमा दुई बजेदेखि सुरु हुने कार्यक्रममा दशैं मनाउन विदेशबाट आएका सबै पर्वतेहरुलाई पनि निमन्त्रणा गरिने बताइएको छ । काठमाडौंमा कार्यक्रम आयोजनाको मिति घोषणा गरेपछि अध्यक्ष पन्त र उपाध्यक्ष लोकप्रिय लोक गायक याम क्षेत्रीले पर्वत सदरमुकाम कुश्मा पुगेर यसबारे स्थानीय पत्रकारहरु समेत जानकारी दिएका छन् ।

अध्यक्ष पन्त भन्छन्, ‘कार्यक्रमको उद्देश्य अक्षयकोष स्थापना हो । उठेको रकम रकम पर्वतमा सामाजिक सहयोग र पर्वतका प्रतिभाको सहयोगका लागि खर्च गरिने छ।’ उनले कलाकारहरु समाजका आदर्श हुन् भन्ने मूल मन्त्रमा रहेर यस्तो उद्देश्य राखिएको बताए ।

SHARE THIS CONTENT

Leave A Response