‘जाइरा’ की भिलेन श्रृजना भन्छिन्, ‘एक्सनमा धेरै मेहनत गरेको छु’

नेपालमा महिला केन्द्रित चलचित्रको खडेरी जस्तै छ । यसबीच, आउँदो भाद्र ६ गते वुमन सेन्ट्रिक भनिएको एक्सन प्रधान चलचित्र ‘जाइरा’ प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा अभिनेत्री नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निभाएकी छन् । चलचित्रमा उनलाई एक्सन गर्दै गरेको देख्न सकिनेछ । पर्दामा लभर गर्लको भूमिकामा निकै रुचाइएकी उनले पहिलो पटक एक्सन भूमिका निर्वाह गरेकी हुन् ।

एक महिलाले लिने प्रतिशोधको कथामा चलचित्र निर्माण गरिएको बताईएको छ । यो चलचित्रमा नेगेटिभ रोल अर्थात् भिलेनमा पनि महिलालाई नै प्रस्तुत गरिएको छ । नव अभिनेत्री श्रृजना रेग्मी फिल्ममा भिलेन (बुलेट) को भूमिकामा छिन् । चलचित्रमा अभिनेत्री नम्रता र उनले जबरजस्त लडाईं गरेका छन् । ट्रेलरमा पनि त्यसको केही दृश्य अटाइएको छ । अभिनेत्री नम्रताका अनुसार, चलचित्रमा अहिलेसम्मकै पावरफुल फिमेल भिलेनको क्यारेक्टर श्रृजनाले निभाएकी छन् ।


चलचित्रको ट्रेलर सार्वजनिक भएपछि श्रृजनाको लुक्स र एक्सनको सर्वत्र प्रशंसा भइरहेको छ । ट्रेलरको एक दृश्यमा उनको बाइक स्टन्टले अझ धेरैको ध्यान खिचेको छ । चलचित्र रिलिज अगावै उनलाई एक्सनमा राम्रो सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेर्न थालिएको छ । उनी पनि यो चलचित्रलाई लिएर आफू निकै आशावादी रहेको बताउँछिन् । चलचित्रमा आफूले एक्सनमा निकै मेहनत गरेको उनको भनाई छ ।

नम्रता र श्रृजनाका अलावा चलचित्रमा अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, सुजता श्रेष्ठ, सम्राट मगरलगायतको पनि अभिनय छ । यसलाई आशुतोषराज श्रेष्ठले निर्देशन गरेका हुन् । पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन् । कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतीमा बनेको यसका कार्यकारी निर्माता प्रशन्न गोपाली हुन् । बाबु श्रेष्ठले चलचित्र खिचेका हुन् ।

SHARE THIS CONTENT

Leave A Response