‘मिशन मंगल’ को बम्पर ओपनिङ

भारतको स्वतन्त्रता दिवसको दिन प्रदर्शनमा आएको अक्षय कुमार, विद्या बालन, तापसी पन्नी र सोनाक्षी सिन्हा अभिनीत चलचित्र ‘मिशन मंगल’ बक्सअफिसमा सानदार सुरुवात गरेको छ । यो चलचित्र ट्रेड एनालिस्टको अनुमानभन्दा खरो उत्रिएका छ । चलचित्रले प्रदर्शनको पहिलो दिन नै २९ करोड १६ लाख कमाउँदै बम्पर ओपनिङ गरेको छ । चलचित्रले पहिलो दिन २३ देखि २५ करोड कमाउने अनुमान गरिएको छ ।

यो कमाईसँगै ‘मिशन मंगल’ अक्षय कुमारको करिअरको सबैभन्दा ठूलो ओनपर चलचित्र बनेको छ । पहिलो दिन ओपनिङको मामिलामा यो चलचित्र वर्षको दोस्रो सबैभन्दा ठूलो फिल्म पनि बन्न सफल भएको छ । पहिलो नम्बरमा सुपरस्टार सलमान खान अभिनीत चलचित्र ‘भारत’ छ, जसले पहिलो दिन नै ४२ करोड ३० लाखको व्यापार गरेको थियो । दोस्रो नम्बरमा ‘कलंक’ २१.६० लाई उछिन्दै ‘मिशन मंगल’ आएको छ ।


गएको वर्ष स्वतन्त्रता दिवसको मौका अक्षयले चलचित्र‘गोल्ड’ लिएर आएका थिए । यसले पहिलो दिन २५ करोड २५ लाखको व्यापार गरेको थियो । यस वर्षको सुरुवातमा प्रदर्शनमा आएको उनको अर्को चलचित्र ‘केसरी’ ले २१ करोड ५० लाखको ओपनिङ गरेको थियो । पछिल्लो केही वर्षदेखि अक्षयको चलचित्र स्वतन्त्रता दिवसमा प्रदर्शनमा आउने गरेको छ र बक्सअफिसमा गजबको पैसा छाप्ने गरेका छन् ।

‘मिशन मंगल’ का निर्देशक जगन शक्‍त‍ि हुन् । चलचित्रमा कीर्ति कुल्‍हारी, नित्‍या मेनन र शरमन जोशीको पनि प्रमुख भूमिका छ । यो चलचित्रलाई दर्शक र समीक्षकले निकै रुचाएका छन् । अक्षय कुमार र विद्या बालनको अभिनयको सर्वत्र तारिफ भइरहेको छ । चलचित्रको गीत, एडिटिङ, सिनेमाटोग्राफी र ग्राफिक्स उम्दा छ । फर्स्ट हाफ निकै स्लो भए पनि चलचित्रको सेकेण्ड हाफ बलियो छ ।

SHARE THIS CONTENT

Leave A Response