निर्माता वाग्लेको ‘पारस’ मा निश्चल मुख्य भूमिकामा

निर्माता माधव वाग्लेले पहिलो पटक निर्देशन गर्न लागेको चलचित्रको नाम सार्वजनिक भएको छ । आधा दर्जन बढी चलचित्रको निर्माण गरिसकेका उनले निर्देशन गर्ने चलचित्रको नाम ‘पारस : द अनलक्की म्यान’ जुराइएको छ । आइतबार उनले आफ्नो आधिकारिक फेसबुकबाट फिल्मको घोषणा गरे । चलचित्रले एक अनलक्की पुरुषको कथा भन्नेछ ।

आउँदो मंसिरबाट छायांकनमा जाने चलचित्रका लागि केही लिड कलाकारको टुंगो लागिसकेको छ । चलचित्रको टाइटल क्यारेक्टरमा अभिनेता तथा ‘लुट’ सिरिजका निर्देशक निश्चल बस्नेत देखिनेछन् । उनीसँग चलचित्रमा कलाकार सन्दीप क्षेत्री पनि फाइनल भएका छन् । यो चलचित्रबाट अभिनेत्रीमा समीक्षा पोखरेलले डेब्यू गर्दैछिन् ।


छायांकन सुरु नहुँदै निर्माता वाग्लेले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेका छन् । उनले यो चलचित्र यस वर्ष (२०७६) को चैत २८ गते प्रदर्शनमा आउने बताए । हाल चलचित्रको स्क्रिप्टलाई अन्तिम रुप दिने काम भइरहेको जानकारी प्राप्त छ । एक दशकदेखि निर्माताको रुपमा बटुलेको अनुभवबाट चलचित्र निर्देशन गर्न लागेको निर्माता वाग्ले बताउँछन् ।

निर्माता सधैं मुर्गा मात्र हुने तर फाइदा कलाकार र निर्देशकलाई हुने हुँदा आफू चलचित्र निर्देशनमा उत्रिन लागेको उनले बताए । ‘चलचित्रमा लगानी गर्ने व्यक्ति सधैं छाँयामा पर्छ । मिडियाले पनि कलाकार र निर्देशकलाई मात्र स्थान दिन्छ । यो लोभले गर्दा पनि निर्देशक बन्न लागेको हुँ’, उनले भने । उनी यो चलचित्र आफैंमाथि एक प्रयोग पनि हुने बताउँछन् ।

SHARE THIS CONTENT

Leave A Response