क्रिकेट रंगशाला निर्माणलाई ‘कबड्डी कबड्डी कबड्डी’ को तीन लाख सहयोग

भरतपुरको चितवनमा निर्माणाधिन ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणलाई असोज ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस वर्षको बहुप्रतिक्षीत फिल्ममध्ये एक ‘कबड्डी कबड्डी कबड्डी’ टिमले तीन लाख आर्थिक सहयोग गरेको छ । आइतबार सिताराम कट्टेललाई चलचित्रका अभिनेता दयाहाङ राई र विल्सन विक्रम राईले चेक हस्तान्तरण गरे ।

चेक हस्तान्तरणपछि अभिनेता दयाहाङ राईले क्रिकेट रंगशाला निर्माणका लागि सानो भए पनि फिल्मको तर्फबाट सहयोग गर्न पाउँदा खुसी महशुस भएको बताए । उनले देशको गौरवको आयोजना भएका कारण सबै नेपालीलाई आ-आफ्नो क्षमता र अवस्थाअनुसार सहयोग गर्न पनि आग्रह गरे । अर्कां अभिनेता विल्सनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्नु सबै नेपालीको दायित्व रहेको बताए ।

प्रदर्शन मिति नजिकिँदै गर्दा सामाजिक कार्यमा पनि सक्रियता देखाएको ‘कबड्डी कबड्डी कबड्डी’ टिम अहिले प्रचार-प्रचारलाई तिव्रता दिन व्यस्त छ । मौलिक विषयवस्तुमा चलचित्र बनाउन सिपालु मानिने रामबाबु गुरुङले यो चलचित्रको निर्देशन गरेका हुन् । गीतसंगीत र ट्रेलरका कारण निकै चर्चामा रहेको यस चलचित्रले सुस्ताएको नेपाली फिल्मको बजार केही हदसम्म भए पनि उठाउने अपेक्षा गरिएको छ ।

चलचित्रले स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा वाचन गरेको छ । दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, लुनिभा तुलाधर, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको यसमा अभिनय छ । यसको कथा निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् ।

SHARE THIS CONTENT

Leave A Response