मह जोडीको चलचित्रमा फेरि प्रदीप, दशैंमा रिलिज हुने

यस वर्षको दशैंले भर्खर पाइला टेकेको छ । तर, चलचित्र निर्माताहरु भने अर्को वर्षको दशैंका लागि भकाभक चलचित्रको प्रदर्शन मिति घोषणा गरिरहेका छन् । भुवन केसीको ‘एन्टी हिरो’, अशोक शर्माको ‘अल्लारे २’, निगम श्रेष्ठको ‘छड्के २’, रेनशा वान्तवा राईको ‘आइ एम ट्वान्टिवान’ र झरना थापाको ‘ए मेरो हजुर ४’ अर्को वर्षको दशैंमा आउने निश्चत भइसकेका छन् । यो लिस्टमा अर्को चलचित्र पनि थपिएको छ ।

मह जोडीको अभिनय रहने अनटाइटल प्रोजेक्ट २०७७ साल कात्तिक ७ गते फूलपातीको दिनबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । बिहीबार चलचित्रको निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्‍यो । चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गर्नेछन् । उनले यसअघि चलचित्र ‘शत्रु गते’ मा बरिष्ठ कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई एक्सन-कट गरेका थिए । उनी ‘जात्रा’ र ‘जात्रै जात्रा’ का निर्देशक पनि हुन् ।

मह जोडीले दोस्रो पटक फिचर चलचित्रमा प्रदीपसँग सहकार्य गर्न लागेका हुन् । चलचित्रको केही दिनमा नाम सार्वजनिक गर्ने बताइएको छ । चलचित्रको कथा प्रदीप स्वयंले लेखिरहेका छन् । चलचित्रमा मह जोडी, निर्देशक भट्टराई र निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँको लगानी रहनेछ । सम्भवतः चलचित्रको छायांकन तिहारपछि सुरु हुनेछ ।

SHARE THIS CONTENT

Leave A Response