उपासना भन्छिन्, ‘दशैंलाई भनेर खर्च छुट्याउँदिनँ’

काठमाण्डौ। असत्यमाथि सत्यको विजयको प्रतीकको रुपमा मनाइने नेपालीहरुको महान चाड दशैंको यतिबेला सबैतिर रौनकता बढेको छ । राजधानीभन्दा बाहिर घर हुनेहरु धमाधम घर-गाउँ फर्किरहेका छन्, नयाँ पैसा साट्न बैंकमा लाइन बस्नेको भीड उत्तिकै छ । दशैंका लागि विद्यालयहरू बन्द भइसकेका छन्। गाउँबाट अध्ययनका लागि शहर बसेकाहरु घर जानेको लर्को लागेको छ ।

नेपालीहरुको महान चाड दशैंको आफ्नै सामाजिक, राजनैतिक र आर्थिक महत्त्व छ । दशैं सामाजिक रुपमा एक आपसमा सद्भाव, माया, आदर बढाउने पर्व पनि हो । गरिबीको रेखामुनि रहेका धेरै नेपालीले दुःख गरेर भए पनि एकछाक मीठो र एकसरो नयाँ लुगा फेर्ने अवसर पनि हो, दशैं । सधैं एक्सन-कटमा व्यस्त हुने कलाकारहरु पनि दशैंको अवसरमा फुर्सद लिने र रमाइलो गर्ने योजनामा छन् ।

टाढा-टाढा घर हुने कलाकारहरु विस्तारै राजधानी छाड्दैछन् । भने, कोही किनमेलमा व्यस्त छन् । फिल्म ‘क्याप्टेन’ बाट अभिनयमा डेब्यू गरेकी अभिनेत्री उपासना सिंह ठकुरीलाई भने किनमेलमा खासै रुची रहनेछ । गएको असोज ३ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ३’ को सक्सेस सेलिव्रेट गरिरहेकी उनी दशैंमा किनमेलभन्दा पनि आफन्तसँग रमाउन आफूलाई मनपर्ने बताउँछिन् ।

‘आफ्नो लागि अहिलेसम्म किनमेल गरेको छैन । दशैंकै लागि भनेर म खासै किनमेल पनि गर्दिनँ । घरका लागि भने केही किनमेल गरेको छु’, उनले भनिन् । अघिल्ला वर्षका दशैं उनले परिवारसँग महेन्द्रनगर मनाउने गरेकी रहेछिन् । तर, यसपालीको दशैं राजधानीमा हुने उनले बताइन् । बाल्यकाल र अहिलेको दशैंमा आफूले खासै भिन्नता नपाएको उनको भनाई छ ।

‘बाल्यकाल र अहिलेको दशैंमा मैले खासै भिन्नता पाएको छैन । हो, पहिलाको दशैंमा मान्यजनले दिने आर्शिवादभन्दा दक्षिणा प्यारो हुन्थ्यो । टीका लगाएपछि खाममा भएको दक्षिणा हेर्नै हतार हुन्थ्यो । अहिले भने आर्शिवादको लोभ हुन्छ । तर, बाल्यकालमा दशैं आउँदा जुन ‘एक्ससाइटमेन्ट’ हुन्थ्यो त्यो अहिले पनि हुन्छ’, उनले भनिन् । उनले आफूले दशैंका लागि भनेर खर्च छुट्याउने नगरेको पनि बताइन् ।

SHARE THIS CONTENT

Leave A Response