‘राम्रो पति पाउनु’ भन्ने आर्शिवाद दिन छाड्नुस् : रेखा थापा

काठमाण्डौ। फिल्ममार्फत नारी सशक्तिकरणको मुद्धा उठाउने अभिनेत्री रेखा थापा स्पष्ट वक्ताको रुपमा चिनिन्छिन् । बेला-बखतमा उनले देश र समाजमा हुने गरेका विभिन्न गतिविधिलाई लिएर आफ्नो अभिव्यक्ति दिने गरेकी छन् । महिलामाथि हुने गरेका सबै प्रकारका बिभेद र हिंसाको अन्त्य हुनुपर्ने आवाज उठाउँदै आएकी उनी अब दशैं फरक ढंगबाट मनाउनु पर्ने तर्क राख्छिन् । सधैं रमाइलो र जमघटको माध्यममात्र दशैं बन्न नहुने उनको भनाई छ ।

‘अब चाहिँ फरक ढंगले दशैं मनाउनुपर्छ भन्ने महशुस भएको छ । दशैं सधैं रमाइलो र जमघटको मात्र माध्यम नबनोस् भन्ने लाग्छ । घटस्थापनादेखि ९ दिनसम्म हामी नवदुर्गाको पूजा गर्छौं । तर, यही देशमा कोही एसिड भिक्टिम छ । कोही बलात्कृत छ । दिनहुँ हामीले विभिन्न प्रकारका घटना सुनिरहेका हुन्छौं । यसपालीको दशैंमा सबै महिला दिदी-बहिनीलाई एकदमै शक्तिशाली बन्ने आर्शिवाद माग्नुस् भन्न चाहन्छु’, उनले भनिन् ।

मनभित्रको कमजोर सत्तालाई त्यागेर यसपालीको दशैंदेखि पूर्णरुपमा शक्तिशाली हुन महिलाहरुलाई उनको आग्रह छ । रेखा अगाडि भन्छिन्, ‘दुर्गा भवानीले मैसासुर नामका राक्षसको वध गरेकी थिइन् । उनी पनि एक नारी नै थिइन् । तर, यत्तिका वर्षसम्म हामी के सिकिरहेका छौं र के आर्शिवाद लिइरहेका छौं ? अझै पनि महिलाहरुलाई शक्तिशाली होइन राम्रो श्रीमान् पाउनु भनेर आर्शिवाद दिने गरिन्छ । अब यो सबै छाड्नुस् ।’

नारीको पूजा गरेर विजय उत्सव मनाउँदै गर्दा तिनै नारीहरुको घर, समाज र देशभित्र कस्तो अवस्था छ भन्ने अहिलेको महत्त्वपूर्ण कुरा रहेको उनको भनाई छ । सम्पूर्ण महिलाहरुलाई दुर्गा भवानीजस्तो साहसी बन्न उनी आग्रह गर्छिन् । ‘तपाईं आफ्नो सूत्रमा बाँच्नुस् । कसैसँग नडराउनुस् । घर, समाज र देशको इज्जतमा बसेर तपाईं मन लागेको कुरा गर्न र बन्न सक्नुहुन्छ’, दशैंको सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै उनले भनिन् ।

SHARE THIS CONTENT

Leave A Response