अनमोलको ‘धुपौरे’ मा प्रमोदको इन्ट्री

नेपाली चलचित्रका अहिलेका हटकेक अनमोल केसीको प्रमुख भूमिका रहने चलचित्र ‘धुपौरे’ मा अभिनेता प्रमोद अग्रहरी अनुबन्ध भएका छन् । मधेशी र नेगेटिभ रोलमा परफेक्ट मानिने उनले यो चलचित्रमा पनि भिलेनको भूमिका निर्वाहा गर्दैछन् । अर्थात्, चलचित्रमा उनको अनमोलसँग भिडन्त हुनेछ । हालै उनीसँग निर्माण टिमले कागजी सम्झौता गरेको हो । कथाको मागअनुसार चलचित्रमा प्रमोदलाई अनुबन्ध गरेको निर्देशक भुटियाले जानकारी दिए ।

चलचित्र ‘कथा काठमाण्डू’ मा अभिनेत्री प्रियंका कार्कीसँग इन्टिमेट सिन दिएपछि चर्चामा आएका प्रमोदले पहिलो पटक अभिनेता अनमोलसँग स्क्रिन साझेदारी गर्न लागेका हुन् । उनी चलचित्रलाई लिएर निकै उत्साहित रहेको बताउँछन् । पर्दामा अनमोल र प्रमोदको भिडन्त हेर्न निकै रोचक हुने देखिन्छ । यो चलचित्रका लागि अहिले निर्माण टिम लिड अभिनेत्रीको खोजीमा छ । बिहीबार अभिनेत्रीका लागि फाइनल अडिसन हुँदैछ ।

नामका कारण पनि चर्चामा रहेको यस चलचित्रमा अभिनेता अनमोल पहिलो पटक जुवाडेको भूमिकामा देखिँदैछन् । उनी ‘धुपौरे’ मा निर्वाहा गर्न लागेको भूमिका आफ्नो करिअरको सबैभन्दा चुनौतीपूर्ण रहेको बताउँछन् । जीवनमा कहिल्यै तास नखेलेको बताउने उनी अहिले यस चलचित्रमा निर्वाहा गर्न लागेको चरित्रलाई न्याय गर्न तासको खेल सिकिरहेका छन् । ५० लाख पारिश्रमिकमा उनले यो चलचित्र साइन गरेका हुन् ।

SHARE THIS CONTENT

Leave A Response