जब अशोक र दीपकले अंकमाल गरे…

निर्माता द्वय अशोक शर्मा र दीपकराज गिरीको सम्बन्ध खासै राम्रो छैन । तर, बुधबार जय नेपाल हलमा आयोजना गरिएको चलचित्र ‘छ माया छपक्कै’ को विशेष शोमा दुईले पुरानो दुश्मनी भुलेर अंकमाल गरेका छन् । निर्माता गिरीको निमन्त्रणामा निर्माता तथा निर्देशक शर्मा चलचित्र हेर्न पुगेका थिए । मिडियाकर्मीको आग्रहमा तस्विर खिचाउँदै गर्दा ठट्यौली शैलीमा एक पत्रकारले भने- ‘यो तस्विर अर्को वर्षको दशैंमा काम लाग्छ ।’ यो सुनेर अशोक शर्मा र दीपकराज गिरी पनि मुस्कुराए ।

गत वर्ष दीपकराजको चलचित्र ‘छक्का पञ्जा ३’ सँग आफ्नो चलचित्र ‘जय भोले’ भिडाउने तयारीमा थिए, निर्माता शर्मा । उनले दीपकको समुहले निर्माण गरेको चलचित्रसँग भिडाउनकै लागि ‘जय भोले’ बनाएको पनि फिल्मवृतमा चर्चा चलेको थियो । गत वर्षको दशैंमा मिलेर चलचित्र रिलिज गर्न दुईबीच थुप्रैपटक वार्ता भए । तर, दुईको आ-आफ्नै अडानले लामो समय सहमति जुट्न सकेन । दुई चलचित्र एकै मितिमा जुध्ने लगभग पक्कापक्की नै भएको थियो । तर, अन्तिम समयमा दीपकराजको चलचित्र ‘छक्का पञ्जा ३’ लाई घटस्थापना छाड्दै अशोक शर्माले फूलपातीमा ‘जय भोले’ रिलिज गरे ।


यस वर्षको दशैं विदामा चलचित्र रिलिज गर्न पनि अशोक र दीपकराजबीच महाभारतकै युद्ध भएको थियो । दीपकराजले आफ्नो चलचित्र ‘छ माया छपक्कै’ असोज ३ मा ल्याउने तयारी गरिरहँदा निर्माता शर्माले रातारात हेमराज विसीको चलचित्र ‘घामड शेरे’ लाई कात्तिक ८ मा पुर्‍याएर ‘कबड्डी ३’ ल्याए । र, आफ्नो चलचित्र ‘रातो टीका निधारमा’ असोज १० मा प्रदर्शन गर्ने घोषणा गरे । जसले गर्दा यस वर्षको दशैं विदा खानबाट बन्चित भयो, ‘छ माया छपक्कै’ ।

निर्माता शर्माको राजनीतिका कारण दशैं छाड्नु पर्दाको कुन्ठा दीपकराजमा अझै छ । त्यसैले त, केही हप्ता अगाडि चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा निर्माता शर्माप्रति कटाक्ष गर्दै उनले भनेका थिए, ‘छोरा बोकेर आएका पिता र मातासँग के झगडा गर्नु भनेर म आफैं पछाडि हटेँ ।’ यसपछि त के चाहियो र, दीपकराज गिरी र अशोक शर्माको ‘पानी बाराबार’ नै भएको थियो । यद्यपि, निर्माता शर्माले दीपकराजलाई कुनै जवाफ फर्काएनन् ।

‘छ माया छपक्कै’ को विशेष शोमा दुई बाघ निर्माताको अंकमालले दुश्मनी अब मित्रतामा परिणत भएको अनुमान गर्न सकिन्छ । तर, अर्को वर्षको दशैंमा पनि उनीहरुबीच ‘पानी बाराबार’ को स्थिति सृजना नहोला भन्न सकिन्न । किनकि, अर्को दशैंमा निर्देशक शर्माले नयाँ चलचित्र ‘अल्लारे २’ प्रदर्शन गर्ने घोषणा गरिसकेका छन् । सिमोस सुनुवारसँगको सहकार्यमा बन्न लागेको दीपकराज समुहको चलचित्र ‘छन् गेडी सबै मेरी’ पनि दशैंमै प्रदर्शन हुने सम्भावना छ ।


अशोक र दीपकले फिल्म प्रदर्शनका लागि दशैं रोजेको खण्डमा पत्रकारले भनेझैँ ‘छ माया छपक्कै’ को विशेष शोमा खिचिएको दुईको तस्विर अर्को वर्षको दशैंमा समाचार बनाउनका लागि मिडियालाई खुब काम लाग्नेछ । तर, हरेक वर्ष चलचित्र प्रदर्शन गर्न कुकुर र बिरालोजस्तो झगडा गर्ने दुईको व्यबहारले चलचित्र क्षेत्रमा नराम्रो संस्कार भित्राएको कतिपयको आरोप छ । आशा गरौं, अबका दिनमा दुईबीच सहमतिको वातावरण बन्नेछ ।

SHARE THIS CONTENT

Leave A Response