अब कुन चलचित्र गर्दैछन् दयाहाङ ?

यस वर्ष प्रदर्शनमा आएका दुई चलचित्र ‘जात्रै जात्रा’ र ‘कबड्डी कबड्डी कबड्डी’ को सफलताले दंग छन्, अभिनेता दयाहाङ राई । यी दुई चलचित्रले बक्सअफिसमा आक्रामक व्यापार गर्दा उनको खस्किएको स्टारडम फेरि उत्कर्षमा पुग्यो । दुई चलचित्रको सफलताले पुनः नेपाली चलचित्रमा उनको डिमान्ड चुलिएको छ । हातमा फिल्मको ताँती छ ।

अहिले उनी निर्देशक रामबाबु गुरुङ निर्देशित चलचित्र ‘सेन्टी भाइरस’ को छायांकनमा व्यस्त छन् । सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ चलचित्रमा प्रमुख भूमिकामा छन् । यसमा दयाहाङको केमियो रहेको जानकारी प्राप्त छ । यो चलचित्रपछि उनले गर्न लागेको नयाँ चलचित्रको विषयमा धेरैलाई कौतुहलता छ । प्राप्त जानकारी अनुसार, उनी चाँडै उपेन्द्र सुब्बाको चलचित्र गर्दैछन् ।

‘कबड्डी’ सिरिजका स्क्रिप्ट राइटर तथा चर्चित लेखक सुब्बाले उनलाई लिएर चलचित्र बनाउन लागेका हुन् । चलचित्रको निर्देशन उनी स्वयंले गर्दैछन् । तिहार सकिएलगत्तै फिल्मको छायांकन सुरु हुने बताइएको छ । नाम गोप्य राखिएको चलचित्रको अधिकांश छायांकन ताप्लेजुङमा हुने जानकारी प्राप्त छ । यो चलचित्रका लागि उनले छायांकनरत चलचित्र ‘लप्पन छप्पन २’ समेत छाडेको चर्चा फिल्मवृतमा छ ।

लेखक सुब्बाको फिल्मपछि दयाहाङले निर्देशक दीपेन्द्र लामाको चलचित्र गर्नेछन् । यसअघि चलचित्र ‘घामपानी’ मा दुईको सहकार्य भएको थियो । अहिले निर्देशक लामा निर्देशित चलचित्र ‘छ माया छपक्कै’ ले बक्सअफिसमा सानदार व्यापार गरिरहेको छ । निर्देशक लामा र अभिनेता राईबीच चलचित्र गर्ने विषयमा सहमति भइसकेको छ । यी दुई चलचित्रसँगै दयाहाङको पाइपलाइनमा अझै केही चलचित्र छन् ।

SHARE THIS CONTENT

Leave A Response