सकियो ‘धुर्मुस-सुन्तली’ को ‘सेन्टी भाइरस’ छायांकन

हास्यकलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’ को छायांकन सकिएको छ । करीब १ महिना लामो छायांकनपश्चात् एक गीत बाँकी राख्दै शुक्रबार चलचित्रको सुटिङ प्याकअप गरिएको हो । गीतको छायांकन केही समयपछि हुने चलचित्रका कलाकार सितारामले जानकारी दिए ।

रामबाबु गुरुङ निर्देशित चलचित्रमा सितारामसँगै कुञ्जना घिमिरे, दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतका कलाकारहरुको पनि अभिनय छ । रुपाकोट र पोखरामा छायांकन भएको चलचित्र सामाजिक व्यंग्यमा निर्माण भएको बताइएको छ । शैलेन्द्र डि. कार्कीले चलचित्रको सम्पूर्ण दृश्य खिचेका हुन् ।

‘सेन्टी भाइरस’ बाट पहिलो पटक ‘धुर्मुस-सुन्तली’ चलचित्र निर्माणमा होमिएका हुन् । उनीहरुको होम प्रोडक्सन कम्पनी सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्माण भएको यस चलचित्रमा राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । भने, डिन्डु लामा ह्योल्मोले चलचित्रको निर्माण गरेकी हुन् । ‘सेन्टी भाइरस’ को सह-निर्मातामा फूर्पा लामा रहेका छन् ।

निर्देशक रामबाबुले चलचित्रलाई उत्कृष्ट बनाउने कुनै कसर बाँकी नराखेको दाबी गरेका छन् । पहिलो पटक चलचित्रमा अभिनेत्रीको रुपमा देखिन लागेकी कुञ्जनाले आफ्नो बाल्यकालदेखिको फिल्ममा अभिनय गर्ने रहर पूरा भएकोमा खुसी व्यक्त गरेकी छन् । यो चलचित्रको मुनाफाको २० प्रतिशत समाजसेवामा खर्च गरिँदैछ । २ करोडको लागतमा चलचित्र बनेको हो ।

SHARE THIS CONTENT

Leave A Response