‘सरौतो’ मा ‘भिटेन’ को र्‍याप

चर्चित र्‍यापर समिर घिसिङ ‘भिटेन’ ले पहिलो पटक नेपाली चलचित्रको गीत गाएका छन् । आउँदो मंसिर १३ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेत्री सुमी मोक्तान स्टारर एक्सन प्रधान चलचित्र ‘सरौतो’ को प्रमोसनल गीतमा उनले आवाज दिएका छन् । गीतमा भिटेन स्वयंको स्वर, शब्द तथा संगीत छ । चलचित्रको टीजर राम्रो लागेपछि उनले गीत तयार गरेका हुन् । गीतमा उनी स्वयं देखिनेछन् ।


उनीसँगै गीतमा चलचित्रका प्रमुख कलाकार विजय लामा र अभिनेत्री सुमी पनि देखिँदैछन् । तिहारको छेकोमा छायांकन गरिएको चलचित्रको प्रमोसनल गीत यही शुक्रबार सार्वजनिक गर्ने तरखरमा निर्माण टिम छ । गीतमा गायक भिटेन केही अलग अन्दाजमा प्रस्तुत हुने निर्देशक हरि हुमागाईंले बताए । यो गीतले चलचित्रको व्यापारमा फाइदा पुग्ने विश्वास निर्माण टिमलाई छ ।

‘सरौतो’ मा सन्नी सिंह, लियो ट्यांक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतमलगायतको पनि अभिनय छ । बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको चलचित्रमा राघव कृष्ण गौतमको लेखन छ । निर्देशक हुमागाईंले यो चलचित्रबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् । उत्तम हुमागाईंले चलचित्र खिचेका हुन् ।

SHARE THIS CONTENT

Leave A Response