‘घामड शेरे’ निर्देशक विसीले किन मागे माफी ?

कात्तिक २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको प्रमुख भूमिका रहेको चलचित्र ‘घामड शेरे’ यतिबेला विवादमा तानिएको छ । चलचित्रमा निश्चलले निर्वाहा गरेको पात्र (शेरे) को नाम कांग्रेस सभापति शेरबहादुर देउवासँग जोडेर सामाजिक सञ्जालमा ट्रोल बनेपछि चलचित्र विवादमा झेलिरहेको हो ।

सामाजिक सञ्जालमा फिल्मको पोस्टर र नेता देउवाको फोटो जोडेर बनेका ट्रोल केही दिनयता निकै भाइरल भएका छन् । यसले नेता देउवाको व्यक्तित्वमा आँच पुगेको भन्दै कांग्रेसको भातृ संगठन नेवि संघले सुदूरपश्चिममा चलचित्र प्रदर्शन नै गर्न नदिने घोषणा गरेको छ । त्यस्तै, निर्माण टिमलाई सामाजिक सञ्जालमा विभिन्न खाले धम्की पनि आएको छ ।

बुधबार राजधानीमा आकास्मिक पत्रकार सम्मेलन गर्दै चलचित्रको पोस्टरसँग कांग्रेस नेता शेरबहादुर देउवाको फोटो जोडेर सामाजिक सञ्जालमा भइरहेको ट्रोलमा चलचित्रका कलाकार, निर्देशक, निर्माता र प्राविधिक कसैको पनि संलग्नता र समर्थन नभएको निर्देशक हेमराज विसीले जारी गरेको विज्ञप्तीमा स्पष्ट पारिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘चलचित्रको प्रमुख पात्र शेरेको चरित्र, व्यबहार र कार्यशैली राजनीतिक प्रकृतिको छैन ।’

चलचित्रको नामलाई जोडेर सामाजिक सञ्जालमा भएको ट्रोलका कारण कांग्रेस नेता शेरबहादुर देउवाको व्यक्तित्वमा पर्न गएको असर र असुविधाप्रति निर्माण कम्पनी ‘विसी मोसन पिक्चर’ ले क्षमा पनि मागेको छ । सामाजिक सञ्जाल प्रयोगकर्तालाई यस प्रकारको ट्रोल नगर्न र बनाउन पनि विज्ञप्तीमार्फत् अनुरोध गरिएको छ । निर्देशक विसीले बिहीबार गरिन लागेको प्रिमियरमा कांग्रेस नेतालाई चलचित्र हेर्नका लागि बोलाउने प्रतिवद्धता जनाएका छन् ।


चलचित्रको विवादबारे कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मासँग बुधबार फोनमा कुराकानी भएको उनले बताए । प्रवक्ता शर्मासँग भएको कुराकानीबारे जानकारी दिँदै उनले भने- ‘मैले चलचित्रको प्रमुख पात्र शेरेको चरित्र, व्यबहार र कार्यशैली राजनीतिक प्रकृतिको नभएको जानकारी गराएपछि उहाँले चलचित्रलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।’ उनले सुदूरपश्चिममा विना अवरोध दर्शकले चलचित्र हेर्न पाउनेमा आफू आशावादी रहेको बताए ।

SHARE THIS CONTENT

Leave A Response