‘चपली हाइट ३’ को गरियो शुभ मुहूर्त

७ वर्ष अगाडि प्रदर्शनमा आएको अभिनेत्री विनिता बराल स्टारर सुपरहिट चलचित्र ‘चपली हाइट’ को तेस्रो श्रृंखलाको शुभ मुहूर्त गरिएको छ । मंगलबार काठमाडौंको बुङमती र खोकना गाउँको बीचमा अवस्थित कार्य विनायक मन्दिरमा स्क्रिप्ट, क्ल्याप र क्यामेरा पूजा गरेर चलचत्रको मुहूर्त गरिएको हो । चलचित्रको मंसिर ५ गतेबाट छायांकन सुरु हुँदैछ । भने, एक महिनाको सुटिङ सेड्युल राखिएको छ ।

महूर्त समारोहमा अभिनेत्री द्वय स्वस्तिमा खड्का र सुपुष्पा भट्ट, अभिनेता आमिर गौतम, नव-अभिनेता द्वय महेश त्रिपाठी र प्रतिक श्रेष्ठसँगै निर्माता अर्जुन कुमार, निर्देशक निकेश खड्कालगायत उपस्थित थिए । निर्माता अर्जुनले अघिल्ला दुई सिरिजभन्दा ‘चपली हाइट ३’ फरक कथामा बन्न लागेको बताए । तर, चलचित्रमा दर्शकले सस्पेन्स र थ्रिल पाउने उनको दाबी छ ।


अभिनेत्री स्वस्तिमा खड्का चलचित्रलाई लिएर उत्साहित भए पनि आफ्नो क्यारेक्टरलाई लिएर कन्फ्यूजनमा रहेको बताउँछिन् । ‘मैले यसअघि सस्पेन्स-थ्रिलर चलचित्र गरेको थिइनँ । मेरो लागि यो नयाँ जनरा हो । यसले गर्दा पनि चलचित्रलाई लिएर उत्साहित छु । तर, स्क्रिप्ट र मेरो क्यारेक्टरलाई लिएर कन्फ्यूजन भैरहेको छ । फ्लोरमा गएपछि ‘स्मुथ’ हुन्छ भन्ने विश्वास छ’, उनी सुनिइन् ।

‘चपली हाइट’ सिरिजका भरपर्दा कलाकार आमिर गौतमले पुनः आफूलाई दर्शकमाझ चिनाएको सिरिजमा आबद्ध हुन पाउँदा खुसी व्यक्त गरे । ‘चपली हाइट ३’ को स्क्रिप्ट एकदमै राम्रो रहेको उनको दाबी छ । त्यस्तै, अभिनेत्री सुपुष्पा ब्रान्ड बनिसकेको सिरिजमा काम गर्न पाउनु आफ्नो लागि ठूलो अवसर रहेको बताउँछिन् । चलचित्रको स्क्रिप्टले आफूलाई तानेको उनको भनाई छ ।

चलचित्रमा स्वस्तिमा-महेश र सुपुष्पा-प्रतिकको जोडी बाँधिएको छ । चैतमा प्रदर्शनमा ल्याउने तयारी गरिएको ‘चपली हाइट ३’ लाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गर्न लागेको हो । निर्देशक निकेश र निर्माता अर्जुनबीच यसअघि ‘फाटेको जुत्ता’ मा सहकार्य भएको थियो । ‘चपली हाइट ३’ पछि अर्जुनले ‘बर्मजंगको भिडियो’ र ‘खै’ नामक चलचित्र बनाउँदैछन् ।

SHARE THIS CONTENT

Leave A Response