‘च च हुई’ मा आर्यन कमेडी र रोमान्टिक दुबै अवतारमा

अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगरले पहिलो पटक स्क्रिन साझेदारी गरेको चलचित्र ‘च च हुई’ यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । कमेडी-रोमान्टिक जनरामा निर्माण भएको चलचित्र हङकङबाट नेपाल फर्किएका दुई युवकको जीवनमा एउटा किताबले ल्याउने उतारचढावमा केन्द्रित छ । चलचित्रका निर्देशक साम्तेन भुटिया हुन् ।

चलचित्रमा आर्यन ‘प्रेम’ र मिरुना ‘संगीता’ को भूमिकामा छन् । भने, आर्यनको साथीको भूमिकामा भोलाराज सापकोटा छन् । फिल्ममा पनि उनको नाम भोला नै छ । त्यस्तै, कलाकार माओत्से गुरुङ ‘श्यामलाल’ को भूमिकामा छन् । ‘त्यान्द्रो’, ‘साढे सात’ लगायतका चलचित्रको निर्देशन गरिसकेका निर्देशक भुटिया यसपटक आफूले पूर्ण कमर्शियल चलचित्र बनाउन खोजेको बताउँछन् ।

उनी भन्छन्, ‘मैले पहिलो पटक कमेडी जनराको चलचित्र बनाएको हुँ । चलचित्रले दर्शकलाई बाँध्छ भन्नेमा विश्वस्त छु । मैले फरक चलचित्र गर्ने भन्दा पनि फरक कन्टेन्टलाई रोजेको हुँ ।’ उनले आफूलाई नयाँ धारको आर्ट चलचित्र बनाउने निर्देशकको रुपमा स्थापित गरेका छन् । तर, उनी आफुलाई आर्टमा भन्दा पनि हरेक जनरामा प्रस्तुत गर्न चाहने बताउँछन् ।

अभिनेता आर्यन सिग्देललाई भने निर्देशक भुटियासँग काम गर्न पहिल्यैदेखि मन रहेछ । एक भेटमा उनले भने, ‘मलाई उहाँ (छेवैमा रहेका निर्देशक साम्तेन भुटिया) सँग काम गर्न पहिल्यैदेखि मन थियो । जब उहाँले फिल्म अप्रोच गर्नुभयो म एकदमै खुसी भएको थिएँ । तर, सस्पेन्स-थ्रिलर चलचित्र अफर हुने होकि भन्ने डर पनि लागेको थियो । मलाई यो जनरा पिटिक्कै मन पर्दैन ।’

निर्देशक भुटियाले यसपटक आफूले कमर्शियल चलचित्र बनाउन लागेको बताएपछि भने आर्यन ढुक्क भएका रहेछन् । चलचित्रमा आफू कमेडी र रोमान्टिक दुबै अवतारमा देखिएको उनको भनाई छ । ‘मैले फरक फरक जनराको चलचित्र गर्दै आएको छु । तर, मलाई दर्शकले लभस्टोरी चलचित्रमा नै रुचाउनुभयो,’ उनले अगाडि भने- ‘कमेडी र लभस्टोरीको मिश्रण हो ‘च च हुई’ ।’

SHARE THIS CONTENT

Leave A Response