‘मन परेसी पर्‍यो पर्‍यो’ मा बाँधियो पूजा र आकाशको जोडी

अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको जोडी फेरि एकसाथ पर्दामा देखिने भएको छ । ‘रामकहानी’, ‘सम्हालिन्छ कहिले मन’, ‘पोइ पर्‍यो काले’ र ‘सम्झना-विर्सना’ पछि रघु परियारले निर्माण गर्न लागेको चलचित्र ‘मन परेसी पर्‍यो पर्‍यो’ मा उनीहरु अनुबन्ध भएको मिडिया संयोजक कुमार आचार्यले ठूलो पर्दालाई जानकारी दिए । पूजा र आकाशसँग निर्माण टिमको बुधबार कागजी सम्झौता भएको हो ।

‘जय शम्भु’ फेम्ड निर्देशक रुपेश थिङ तामाङले निर्देशन गर्ने चलचित्रमा पूजा र आकाशसँगै बुद्धि तामाङ, किरण श्रेष्ठ, कालु रानाको अभिनय रहनेछ । फोर्थ आइज् मुभीज प्रालि र डिविआर मिडियाको ब्यानरमा बन्ने चलचित्रको छायांकन पुषको अन्तिम साताबाट हुने निर्देशक तामाङले जानकारी दिए । फ्लोरमा नजाँदै निर्माण टिमले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेको छ ।

अभिनेत्री पूजाले आफूलाई ‘स्टार’ बनाएको चलचित्र ‘प्रेमगीत’ को तेस्रो सिरिजसँग बक्सअफिसमा भिडन्त गर्ने भएकी छन् । आउँदो चैत २८ गतेलाई ‘मन परेसी पर्‍यो पर्‍यो’ को प्रदर्शन मिति घोषणा गरिएको छ । यो मितिमा यसअघि नै यस वर्षको बहुप्रतिक्षीत चलचित्र ‘प्रेमगीत ३’ आउने निधो भैसकेको छ । दोस्रो पटक अभिनेता प्रदीप खड्कासँग पूजाको भिडन्त हुन लागेको हो ।

चितवन र कालिञ्चोकमा छायांकन हुने ‘मन परेसी पर्‍यो पर्‍यो’ मा अर्जुन पोखरेल, पुरुषोत्तम न्यौपाने र श्रीकृष्ण बर्देवाको संगीत रहनेछ । चलचित्रको गीतमा रविन शाहले कोरियोग्राफी गर्नेछन् । निर्देशक तामाङले चलचित्र प्रेमकथामा आधारित भएर बन्न लागेको बताए । पाँचौ पटक सहकार्य गर्न लागेका अभिनेता आकाश र अभिनेत्री पूजा चलचित्रलाई लिएर उत्साहित रहेको बताउँछन् ।

SHARE THIS CONTENT

Leave A Response