‘तिमीसँगै हुने मन छ’ मा पल र निराजन

निर्देशक दीवाकर भट्टराई यतिबेला नयाँ चलचित्रको तयारीमा छन् । गत वर्ष चलचित्र ‘क्याप्टेन’ लिएर आएका उनी अब आफ्नै निर्माण र निर्देशनमा चलचित्र ‘तिमीसँगै हुने मन छ’ बनाउँदैछन् । फिल्ममा लिड अभिनेत्री दीपिका प्रसाईं हुनेछिन् । उनी निर्देशक भट्टराईकी धर्मपत्नि समेत हुन् । पुषको दोस्रो हप्ताबाट छायांकन सुरु हुने बताइएको चलचित्रमा यसअघि अभिनेतामा आर्यन सिग्देलको नाम चर्चामा थियो ।

तर, निर्देशक भट्टराईले आर्यनसँग सहकार्य हुने भनिएको यो नभइ अर्कै चलचित्र रहेको बताएका थिए । यसपछि चलचित्रमा दीपिकासँग अभिनेता पल शाहको जोडी बाँधिन लागेको खबर बाहिरिएको थियो । अन्ततः यो चलचित्रमा अभिनेता पल अनुबन्ध भएका छन् । उनलाई चलचित्रमा अनुबन्ध गरेर निर्देशक भट्टराई श्रीमतीसँग एक अवार्डमा सहभागी हुन अमेरिका उडेका छन् ।

अब, चलचित्रमा पलले अभिनेत्री दीपिका प्रसाईंसँग रोमान्स गर्नेछन् । हालै उनले आफ्नो हिट फ्रेन्चाइज ‘म यस्तो गीत गाउँछु’ को दोस्रो श्रृंखलाको छायांकन भ्याएका थिए । उनको नयाँ चलचित्र ‘हृदय भरी’ प्रदर्शनको पखाईमा छ । त्यस्तै, ‘तिमीसँगै हुने मन छ’ मा पलसँगै म्यूजिक भिडियोका चर्चित मोडल निराजन प्रधान पनि अनुबन्ध भएका छन् । पल र निराजन मिल्ने साथी समेत हुन् ।

दुईले यसअघि दीपिकासँग एक म्यूजिक भिडियोमा काम गरिसकेका छन् । निराजनले यसअघि चलचित्र ‘जालो’ नामक चलचित्रमा काम गरेका थिए । यसपछि उनले चलचित्र ‘प्रेमालय’ साइन गरे । तर, घोषणा भएको ८ महिनासम्म पनि चलचित्र फ्लोरमा नगएपछि उनले हात झिकेका थिए । त्यसयता उनी भिडियोमा व्यस्त छन् । अब, उनलाई ‘तिमीसँगै हुने मन छ’ मा देख्न पाइने भएको छ ।

SHARE THIS CONTENT

Leave A Response