प्रताप दासको स्वरमा ‘अन्तरे’ को गीत

‘फूल हैन’ फेम्ड गायक प्रताप दासलाई अहिले नेपाली चलचित्रको गीतमा आवाज भर्न भ्याइनभ्याइ छ । उनले अनमोल केसीदेखि प्रदीप खड्का अभिनीत चलचित्रका गीतसम्ममा आवाज भरिसकेका छन् । यसबीच, उनले शनिबार नयाँ चलचित्र ‘अन्तरे’ को टाइटल गीतमा आफ्नो स्वर दिएका छन् । ‘उड्छ आकाशमा’ बोलको गीत गाउने अवसर पाएकोमा गायक दासले निर्माण टिमप्रति आभार व्यक्त गरेका छन् ।

गीतको शब्द चलचित्रका निर्देशक सत्यराज चौलागाईं स्वयंको छ भने, सरोज पोखरेलले संगीत भरेका छन् । गोपाल रसाइली गीतका एरेञ्जर हुन् । चलचित्रमा यो गीत कथाको माग रहेको निर्देशक चौलागाईंले बताए । नामका कारण नै चर्चामा रहेको ‘अन्तरे’ मा गत वर्षको चलचित्र ‘बुलबुल’ मा ‘चोपेन्द्र’ को भूमिका निभाएका अभिनेता मुकुन भुषालले टाइटल क्यारेक्टर निभाउँदैछन् ।

चलचित्रका लागि अहिले निर्माण टिम अन्य कलाकारको खोजीमा छ । रेड आइज फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा राज पण्डित र सुबास राईले लगानी गर्दैछन् । फागुनको पहिलो साता फ्लोरमा जाने तयारी गरिरहेको निर्माता राज पण्डितले बताए । यसअघि चलचित्र ‘अनुराग’ निर्देशन गरेका सत्यराजले ‘अन्तरे’ लाई उत्कृष्ट बनाउन कुनै कसर नछाड्ने बताउँछन् ।

चलचित्रमा आफूले निभाउन लागेको भूमिका बलियो भएका कारण काम गर्न राजी भएको अभिनेता भुषालको भनाई छ । उनी भन्छन्, ‘चलचित्रको मुख्य पात्र अन्तरे हो र यो भूमिका बलियो छ । ‘बुलबुल’ बाट मैले पाएको माया दर्शकबाट नमरोस् भनेर मैले धेरै स्क्रिप्ट पढिरहेको थिएँ । यसैक्रममा यो चलचित्रको अफर आयो । मैले जे खोजेको थिएँ त्यो यसमा पाएँ र काम गर्न लागेको हुँ ।’

SHARE THIS CONTENT

Leave A Response