‘माया पिरिम’ ले प्रेमको आभास गराउँछ : निर्देशक राई

यही मंसिर २० गतेबाट चलचित्र ‘माया पिरिम’ प्रदर्शनमा आउँदैछ । यसमा अभिनेता कोशिश क्षेत्री र नव-अभिनेत्री किरण चन्द केन्द्रिय भूमिकामा छन् । चलचित्रलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । उनले यसअघि चलचित्र ‘मट्टीमाला’ को क्याप्टेनसिप सम्हालेका थिए । दोस्रो चलचित्रसम्म आइपुग्दा आफूमा टेक्निकल्ली र क्वालिटीमा धेरै सुधार आएको उनको भनाई छ ।

उनी भन्छन्, ‘जीवनभर सिक्ने क्रम भनेको भैरहन्छ । तर, पहिलो चलचित्रभन्दा यसमा टेक्निकल्ली र क्वालिटीमा धेरै सुधार गरेको छु जस्तो लाग्छ । अब यो कुरा दर्शकले चलचित्र हेरेपछि भन्नुहोला । त्यस्तै, ममा कुन क्यारेक्टरमा कुन कलाकार फिट हुन्छ भन्ने कुरामा पनि धेरै हदसम्म सुधार भएको छ ।’ उनी चलचित्र ‘माया पिरिम’ ले दर्शकलाई प्रेमको आभास गराउने ठोकुवा गर्छन् ।

कसैको वास्तविक घटनाबाट ‘इन्स्पायर्ड’ भएर चलचित्र निर्माण भएको उनले बताए । उनले भने, ‘कसैको वास्तविक प्रेमकथालाई लिएर हामीले चलचित्र बनाएका हौं । पर्दामा उतारिएको कोशिश र किरणको प्रेम र वियोग कसैको जीवनमा घटेको थियो । त्यही प्लट लिएर चलचित्र बनाएका हौं ।’ अहिले बनिरहेका लभस्टोरी चलचित्रभन्दा ‘माया पिरिम’ फरक रहेको उनको दाबी छ ।

सागर बस्नेत र कोषराज दाहाल कार्यकारी निर्माता रहेको चलचित्रको सह-निर्मातामा मोहन मरासैनी र युवराज दाहाल रहेका छन् । प्रविन थापा र सविन अधिकारी चलचित्रका निर्माता हुन् । यो चलचित्रलाई निरज कँडेलले खिचेका हुन् । चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व छ । चलचित्रमा कोशिश र किरणका अलावा विशाल पहारी, कालु राना, जयनन्द लामा, अर्जुन गुरुङलगायतको अभिनय छ ।

SHARE THIS CONTENT

Leave A Response