‘सरौतो’ बाट सुमीले देखाइन् सम्भावना

शुक्रबारबाट प्रदर्शनमा आएको एक्सन प्रधान चलचित्र ‘सरौतो’ ले बक्सअफिसमा खासै राम्रो प्रदर्शन गर्न सकेको छैन । तर, चलचित्रमा प्रमुख भूमिकामा रहेकी अभिनेत्री सुमी मोक्तानको एक्सनलाई भने निकै रुचाइएको छ । चर्चित छायाँकार हरि हुमागाईंको डेब्यू निर्देशनमा बनेको यो चलचित्रमा उनले बहिरा युवतीको भूमिकामा निभाएकी छन् । एक्सनमा आफूलाई ढाल्न उनले डेढ वर्ष मार्सल आर्टको तालिम लिएकी थिइन् । उनको त्यो मेहनत पर्दामा देखिन्छ ।

सुमीको एक्सनले चलचित्रको धेरै कमी-कमजोरीलाई भुलाउँछ । तर, उनको अभिनयले भने उत्तिसाह्रो मन छुँदैन । यद्यपि, उनले एक्सनमा राम्रो सम्भावना देखाएकी छन् । ‘सरौतो’ चुकेको भनेको कथा, पटकथा र प्रस्तुतीमा हो । कथामा नयाँपन छैन । वर्षौदेखि हेर्दै आएको कथालाई नयाँ आवरणमा पेश गरिएको छ । चलचित्र हेर्दै जाँदा कथा कहाँ मोडिन्छ भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्छ ।

पुरानै घिसिपिटी कथा भए पनि पटकथा बलियो भएको हुन्थ्यो भने २ घण्टा १९ मिनेट लम्बाईको यो चलचित्र झेल्न दर्शकलाई मुश्किल हुँदैन थियो । तर, पटकथामा मेहनत पुगेको छैन ।त्यस्तै, चलचित्रको प्रस्तुतीकरण पनि फितलो छ । एउटै दृश्य थुप्रै पटक दोहोर्‍याइएका छन् । यद्यपि, एक्सन जनरामा महिला केन्द्रित चलचित्र बनाउने जोखिम उठाउनु हरि प्रशंसाका हकदार हुन् ।

चलचित्रको राम्रो पक्ष भनेको सुमीको एक्सनसँगै छायांकन पक्ष हो । छायाँकार उत्तम हुमागाईंले कथाको मर्मअनुसारको दृश्य खिचेका छन् । त्यस्तै, द्वन्द्व निर्देशक शंकर महर्जनको काम पनि तारिफयोग्य छ । चलचित्रका प्रमुख अभिनेता सन्नी सिंंह आफ्नो भूमिकामा फिट लाग्दैनन् । तर, खलनायकको भूमिकामा रहेका अभिनेता आमिर गौतमको अभिनयले भने दर्शक बाँध्न सक्छ ।

‘सरौतो’ मा सुमी मोक्तान, सन्नी सिंह, आमिर गौतम, विजय लामा, लियो ट्यांक, अरुणा कार्की, सुवाङ्गम शाह, युवराज लामालगायतका कलाकारहरुको अभिनय छ । चलचित्रको कथा राघव कृष्ण गौतमले लेखेका हुन् । चलचित्रमा राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री र भिटेनको संगीत छ । चलचित्रलाई दर्शकबाट राम्रो र नराम्रो दुबै खाले प्रतिक्रिया मिलेको छ ।

SHARE THIS CONTENT

Leave A Response