‘माइकल अधिकारी’ मा बाँधियो सौगात र सृष्टिको जोडी

गएको २ वर्षदेखि प्रेम सम्बन्धमा रहेका भिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले अहिले चलचित्रमा छुटिएर काम गरेका छैनन् । एकपछि अर्को चलचित्र एकसाथ गरिरहेका छन् । अभिनेता सौगातले आफूले गर्ने चलचित्रमा सृष्टिलाई अभिनेत्रीमा सिफारिस गर्ने गरेको चर्चा छ । तर, यो कुरा उनी अस्वीकार गर्छन् । मेकरले नै आफूलाई एकसाथ चलचित्र अफर गर्ने उनको भनाई छ ।

सौगात र सृष्टिको पछिल्लो रिलिज चलचित्र ‘पोइ पर्‍यो काले’ हो । योभन्दा अगाडि दुईले चलचित्र ‘मासु भात’ मा काम गरेका थिए । यो चलचित्र भने प्रदर्शनमा आएको छैन । यही मंसिर २० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘माछा माछा’ को गीतमा पनि उनीहरु एकसाथ देखिएका छन् । चाँडै यो जोडीले मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्र ‘सँगसँगै’ मा काम गर्दैछ ।

यसबीच, सौगात र सृष्टिको जोडीलाई फेरि एक चलचित्रमा एकसाथ देख्न पाइने भएको छ । गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘रोज’ बनाएको गोपीकृष्ण मुभिजले निर्माण गर्न लागेको चलचित्र ‘माइकल अधिकारी’ मा उनीहरु अनुबन्ध भएका छन् । केही दिनमा चलचित्रको औपचारिक निर्माण घोषणा गरिने बताइएको छ । चलचित्रलाई एक भारतीय निर्देशकले निर्देशन गर्ने जानकारी प्राप्त छ ।

गोप्य स्रोतका अनुसार, सौगातले अभिनेत्रीमा सृष्टि भएको खण्डमा मात्र चलचित्र गर्ने सर्त राखेका थिए । गोपीकृष्ण मुभिज भने नयाँ अभिनेत्री लिने तयारीमा थियो । तर, सौगात आफ्नो सर्तमा अडिग रहेपछि निर्माण टिमले बाध्य भएर चलचित्रमा सृष्टिलाई अनुबन्ध गरेको स्रोत बताउँछ । यद्यपि, चलचित्रमा सौगात र सृष्टि अनुबन्ध भएको विषयमा निर्माण टिमले कुनै जानकारी दिएको छैन ।

SHARE THIS CONTENT

Leave A Response