अभिनेत्री गौरी मल्ललाई टीभी सिरिज ‘सिंहदरबार’ मा दर्शकहरुले हेर्न पाउने भएका छन् । छिरिङरितार शेर्पाको निर्देशन रहेको ‘सिंहदरबार’ मा गौरीले प्रधानमन्त्रीको भूमिका निर्वाह गरेकी छन् । १३ भागको उक्त टीभी सिरिजको यति बेला छायांकन सकिए पनि त्यसका अनुभव भने गौरीको मस्तिष्कमा ताजै छन् ।
भूकम्प पीडित बसेको शिविरमा ‘सिंहदरबार’ छायांकन गर्दा गौरीलाई साँच्चैको प्रधानमन्त्री ठानेका थिए । ‘जब म स्क्रिप्टअनुसार काम गरिरहेकी थिएँ । कसैले ‘प्रधानमन्त्री आउनुभयो’ भन्यो । त्यसपछि सबै आएर घेरिहाले,’ उक्त बेलाको सम्झना गर्दै गौरीले भनिन्, ‘पहिले त मेरो लवाइले गर्दा प्रधानमन्त्री ठानेका होलान् जस्तो लाग्यो । उहाँहरू म समक्ष आएर आफ्ना दुस्खेसो पोखिरहनुभएको थियो । उहाँहरू कपडाले नभई म नै प्रधानमन्त्री भएको ठान्नुभएछ ।’
गौरीले प्रधानमन्त्रीको भूमिकाका लागि निर्देशक छिरिङले प्रस्ताव गर्नेबित्तिकै दायाँबायाँ नसोची हुन्छ भनिदिएकी थिइन् । ‘त्यसपछि उक्त भूमिकाका लागि मैले तयारी थालेकी थिएँ । नेताहरू बोल्ने, हिँड्ने र उनीहरूले जनतासँग गर्ने साक्षात्कारका बारेमा सूक्ष्म अध्ययन गरेकी थिएँ,’ प्रधानमन्त्रीको चरित्रमा गौरी कतिसम्म डुबेकी रहिछन् भने घरमै पनि प्रधानमन्त्रीकै रूपमा पेस हुने रहिछन् । कान्तिपुर दैनिकबाट