काठमाण्डौ। सिन्धुपाल्चोक जिल्लामा रहेको माझी बस्ती निर्माणमा सघाउनेलाई नायिका श्वेता खड्काले सम्मान गरेकी छिन् ।
आर्थिक सहयोग गर्ने सहयोगी दातालाई राजधानीमा रहेको स्वेताश्री फाउण्डेशनको कार्यालयमा हालसम्म बस्ती निर्माणमा सहयोग गर्ने ६ जनालाई श्वेताले सम्मान पत्र दिदैं शुक्रबार सम्मान गरेकी हुन् ।
अमेरिकाबाट तीन लाख रुपैयाँ सहयोग गर्ने श्री पराजुली, एक लाख रुपैयाँ सहयोग गर्ने काभ्रेकी शान्ता डाँगी, पचास हजार सहयोग गर्ने सामाखुसीकी शान्ता बस्नेत, जापानमा रहेर पचास हजार सहयोग गर्ने आरोही सुवेदी, हाल कोरिया बस्ने काठमाण्डौं अनामनगरका पच्चीस हजार एक सय सहयोग गर्ने ब्रजेश श्रेष्ठ र श्वेताश्री फाउण्डेशनको कार्यालयका लागि एक थान कम्प्युटर सहयोग गर्ने आइटी केयर सोलुसनलाई श्वेताले सम्मान गरेकी हुन् ।
कार्यक्रममा स्वेताले भनिन्, ‘सहयोग गर्नेलाई पनि केही प्रमाण होस् भनेर हामीले सम्मान पत्र दिएका हौं । हामीलाई सहयोग गर्ने हरेकलाई हामी सम्मान गर्छौं । जसले प्राप्त सहयोगको पारदर्शीता पनि देखाउँछ ।’
पहरी बस्तीमा रहेका ६३ घर धुरी सहित बाल बगैंचा, बाटो, बायो ग्याँस र चौतारा निर्माणको लागि ५ करोड ४२ लाखको बजेट अनुमान गरिएको छ । सरकारले अनुदान दिने तीन लाख र बाँकी बस्ती बनाउन लाग्ने रकम सहयोगीबाट जुटाउने श्वेताले लक्ष्य राखेकी छिन् ।