काठमाण्डौ। भदौ ८ गतेलाई रिलिज डेट फाइनल गरिएको अनमोल केसी स्टारर चलचित्र ‘कृ’ को रिलिज डेट पोस्टपोन्ड भएको छ । ढिला छायांकन सुरु भएका कारण ‘कृ’ पूर्व निर्धारित मितिमा रिलिज हुन नसकेको स्रोत बताउँछ । खबरका अनुसार, अब ‘कृ’ कार्तिक ३ गते गोवर्द्धन पूजाको दिनबाट अल नेपाल प्रदर्शनमा आउनेछ ।
यसअघि नै कार्तिक २ गते लक्ष्मी पूजाको दिन रेखा थापा र आर्यन सिग्देल अभिनित चलचित्र ‘रुद्र प्रिया’ र नायक रमेश उप्रेतीको निर्माण र अभिनय रहेको चलचित्र ‘ऐश्वर्य’ रिलिज हुने फाइनल भैसकेको छ । यसरी हेर्दा एक दिनको अन्तरमा रिलिज हुन लागेका तीन चलचित्रको भिडन्त सिनेमा हलमा गजबकै हुने अडकल काट्न सुरु भएको छ । यो मितिबाट यी तीन चलचित्र मध्ये कसको रिलिज पोस्टपोन्ड हुने हो यस तर्फपनि सबैको ध्यान मोडिएको छ ।
एकपछि अर्को चलचित्र हिट हुँदा अहिले अनमोल केसीका फिल्महरु अरु कुनै पनि चलचित्रसँग लड्न डराउँदैन । त्यसैले पनि रेखा र आर्यन अभिनित चलचित्र ‘रुद्र प्रिया’ र रमेश उप्रेतीको ‘ऐश्वर्य’ लाई पनि धक्का दिन ‘कृ’ तयार देखिएको छ । यस्तै, रेखा पनि कार्तिक २ गतेबाट पछाडि नहट्ने मनसायमा छिन् ।
कार्तिक २ र ३ गते रिलिज हुने यी तीन चलचित्र यस वर्षका प्रतिक्षित सिनेमा हुन् यसैले पनि सिनेमा हलमा यी चलचित्रको भिडन्तको पूर्व अनुमान लगाउन सुरु भएको छ । यदी यी तीनै चलचित्र एकसाथ हलमा लागे भने स्टाडमको भिडन्त भने गजबकै देख्न पाइनेछ ।