बलिउड सुपरस्टार सलमान खान फागुन २६ गते शनिवार काठमाडौंको टुँडिखेलमा हुने ‘दबंग द टुर नेपाल’का लागि नेपाल आउने भएका छन् । उनको नेपाल बसाई तीन दिनको हुने बताइएपनि सलमान फागुन २६ गते अर्थात्, कन्सर्ट हुने दिन मात्र नेपाल आउने स्रोत बताउँछ ।
कार्यक्रममा सलमानसँगै बलिउड नायिका सोनाक्षी सिन्हा, अभिनेता, निर्देशक तथा कोरियोग्राफर प्रभु देवा, ज्याकलिन फर्नान्डिज, डेजी शाह, कृति सेनोन, मित ब्रदर्श, अभिनेता तथा उद्घोषक मनिष पलपनि सहभागी हुनेछन् । कार्यक्रमको सञ्चालन मनिषले गर्नेछन् ।
३ देखि १० हजार मुल्यसम्मको टिकट उपलब्ध हुने ‘दबंग द टुर नेपाल’ शोको खर्च १५ करोडको आसपासमा हुने आयोजक संस्था ओडीसीका निर्देशक सीमान्त गुरुङले जानकारी दिए ।
फागुन २७ गते विहान पशुपति मन्दिर र हेलिकोप्टर चार्टर गरेर संसारकै अग्लो शिखर सगरमाथाको सलमानलाई भ्रमण गराउने तयारीमा आयोजक संस्था छ । सलमानले पनि पशुपति मन्दिर र सगरमाथाको भ्रमण गर्ने इच्छा देखाएका छन् ।
सलमान झन्डै २३ वर्षपछि नेपाल आउन लागेका हुन् । आफ्नो फिल्मी करिअरको सुरुवातको समयमा उनी सन् १९९४ मा नेपाल आएका थिए ।