मलाई भारतीय भन्दा चित्त दुख्छ : नाजिर हुसेन (भिडियो)



कुशल अभिनय गर्ने नायक नाजिर हुसेन अहिले आफू अभिनीत चलचित्र ‘राज्जा रानी’को प्रमोशनमा व्यस्त छन् । यो चलचित्र पुष २१ गतेबाट प्रदर्शनमा आउँदैछ । उनको नाम सुन्दा भारतीय कलाकार लागेपनि उनी नेपाली हुन् । तर, सामाजिक सञ्जालमा आउने ‘भारतीय धोती’ जस्ता कमेन्टले उनलाई निकै चित्त दुखाउँछ । ठूलोपर्दा टिभीसँगको एक भेटमा नाजिरले भने, ‘मेरो नाम सुन्दा धेरैले मलाई भारतीय कलाकार सोच्नुहुन्छ । तर, म नेपाली हुँ । म नेपालमा जन्मिएको हुँ । मेरो मातृभाषा नेपाली हो ।’

उनी अगाडि भन्छन्, ‘हजुरबुबाको पालादेखि नै हामी विरगञ्जमा बस्दै आइरहेका छौं । सामाजिक सञ्जालमा मलाई ‘भारतीय धोती’ भनेर कमेन्ट आउँदा साह्रै चित्त दुख्छ । म विशुद्ध नेपाली हुँ । मेरो बुबा मश्लिम हुनुहुन्छ अनि आमा हिन्दू हुनुहुन्छ । मेरो पितृभाषा चाहीँ भोजपुरी हो । हुनत, जीवनमा सधै तारिफ मात्र पनि नहुँदो रहेछ । गालीले पनि धेरै कुरा सिकाउँदो रहेछ ।’

‘वीर विक्रम’, ‘तिमीसँग’, ‘गाँठो’ चलचित्रमा काम गरिसकेका उनले आफूलाई ‘हाम्रो नेपाली नायिकासँग नबस’ जस्ता कमेन्ट पनि आउने गरेको बताए । निहाउरो अनुहारमा उनी अगाडि थप्छन्,’सबैले सोच्ने त्यो ‘एन्टी– हिरोइजम फेस’ मेरो नभएर होला । धेरैले हिरो भन्ने वितिक्कै ठूलो शरीर, राम्रो मान्छे हुन्छ भनेर सोच्नुहुन्छ । मलाई खुसी के कुरामा लाग्छ भने मैले केही कुराको त प्रतिनिधित्व गरिरहेको छु । जुन कुराले मलाई आत्मसन्तुष्टि दिन्छ ।’

यम थापा निर्देशित तथा रमेश एमके पौडेल निर्मित फिल्म ‘राज्जा रानी’मा नाजिरले नायिका केकी अधिकारीसँग रोमान्स गरेका छन् । बाल विवाह र दाइजो प्रथाको विषयमा निर्माण भएको यो फिल्मलाई दर्शकले मनपराउनेमा नाजिर विश्वस्त छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu