अर्को वर्षको भदौ २७ गते अभिनेता दयाहाङ राई स्टारर चलचित्र ‘नीरफूल’ प्रदर्शनमा आउने भएको छ । भूकम्पले बिछोडिएका एक परिवारको प्रेमकथा भनिएको चलचित्रलाई पत्रकार फूलमान वलले निर्देशन गरेका हुन् ।
एक वर्ष अगाडि नै छायांकन सकिएको भए पनि विभिन्न कारणले चलचित्र प्रदर्शनमा आउन सकेको थिएन । चलचित्रमा अभिनेत्री रेखा थापा अतिथी भूमिकामा छिन् । शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडालगायतका कलाकारहरुको पनि यसमा अभिनय छ ।
एनिमेसन र भीएफएक्स सकिन समय लागेका कारण चलचित्र प्रदर्शनमा आउन समय लागेको निर्देशक वलले बताए । चलचित्रको पटकथा निर्देशक वल र सचिन घिमिरेले लेखेका हुन् । चलचित्रमा धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत् कथा भन्ने प्रयास गरिएको निर्देशक फूलमान बताउँछन् ।
फ्रेन्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिल र ग्रिनतारा इन्टरटेनमेन्टको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता डोमा सोनाम हुन् । प्रमोद कार्कीको छायांकन रहेको यसमा अर्जुन पोखरेलको संगीत छ । चलचित्रको सम्पादन निमेष श्रेष्ठले गरेका हुन् ।