थाई नेपाली संघ, बैंककले ‘डान्स टिएनए डान्स’ कार्यक्रमको आयोजना गर्ने भएको छ । सेप्टेम्बर २१ तारिखमा थाइल्याण्डको बैंककमा हुने यस कार्यक्रममा गायिका इन्दिरा जोशी, अभिनेता दीलिप रायमाझी र गायिका मेलिना राई निर्णायकको रुपमा रहनेछन् । कार्यक्रममा सहभागी हुन चलचित्र निर्माता शिवराज कार्की पनि थाइल्याण्ड जाँदैछन् ।

एक भिडियो सन्देशमार्फत् गायिका द्वय इन्दिरा र मेलिनाले ‘डान्स टिएनए डान्स’ मा निर्णायकको रुपमा आफूहरु उपस्थित हुन लागेको र थाइल्याण्डवासी नेपालीलाई सहभागिताका लागि आग्रह गरेका छन् । दुबै गायिकाले उक्त कार्यक्रममा आफ्नो प्रस्तुती पनि दिनेछन् । अभिनेता रायमाझीले पनि आफ्नो प्रस्तुति दिने आयोजक संस्थाले बताएको छ ।
थाई नेपाली संघले अन्तर्राष्ट्रिस्तरमा नेपाली कला-संस्कृतिलाई प्रवद्र्धन गर्न ठूलो भूमिका खेल्दै आएको छ । केही दिन अगाडि यस संघका महिला विभागले तिजको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको थियो । थाई नेपाली संघका अध्यक्ष कुमार कार्कीले ‘डान्स टिएनए डान्स’ ले लुकेको प्रतिभा उजागर गर्न ठूलो भूमिका खेल्ने बताएका छन् ।






