कुमारी बैंक र यती एअरलाइन्सबीच व्यवसायिक सहकार्य



काठमाडौं। कुमारी बैंक लिमिटेड र वायुसेवा कम्पनी यती एअरलाइन्स प्रा.लि.ले व्यवसायिक साझेदारी गरेका छन् । संयुक्त रुपममा नेपालमै पहिलो पटक ‘स्वाईप एण्ड फ्लाई केम्पियन’ को शुरुवात भएको छ । यती एअरलाइन्सको स्काई क्लव कार्ड र कुमारी बैंकको भिजा डेबिट कार्डलाई एकीकृत गरेर कुमारी स्काई क्लव को-ब्राण्ड कार्ड जारी गरिने बताईएको छ ।

कुमारी बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाज्यूले कुमारी स्काई क्लव कार्डका वाहकहरुले अब हरेक खरिदमा यो कार्डबाट भुक्तानी गर्दा हवाई यात्रा नगरे पनि हवाई यात्रा गरे सरह नै निश्चित अंक प्राप्त गरिने भएकोले हवाई यात्रा गर्न कुमारी बैंकका ग्राहकहरु समेत प्रोत्साहित हुने बताए । एअरलाइन्स र बैंकका साझेदार ग्राहकहरुले जुनसुकै समयमा यो सुविधा प्राप्त गर्न सक्ने यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले बताए ।

यस प्रकारको सहकार्यले डिजिटल भुक्तानी बानीलाई थप प्रोत्साहन गर्ने विश्वास डिजिटल बैंकिंगका प्रमुख अनिष ताम्राकारले बताए । उनले भने, ‘अब हाम्रा ग्राहकहरुले कुमारी स्काई क्लब कार्डबाट सामान तथा सेवाको भुक्तानी मात्र नभई भुक्तानी गरे बापत प्वाइन्ट्स पनि कमाउने छन् अनि सो प्वाइन्ट्सबाट ग्राहकहरुले यती एअरलाइन्सको निःशुल्क टिकट प्राप्त गरी उडान भर्न सक्नेछन् ।’

एउटैले नै दुबै कार्डको काम गर्ने भएकोले अब दुईवटा कार्ड बोकिरहन नपर्ने यती एअरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराज विष्टले बताए । ‘बैंक र एअरलाइन्सको साझेदार ग्राहकहरुले जुनसकै स्थानमा कार्डबाट भुक्तानी गर्दा प्वाइन्ट्स जम्मा हुनेछ । निश्चित माइलेज प्वाइन्ट्स जम्मा भइसकेपछि साझेदार ग्राहकहरुले सजिलै उपभोग गर्न सक्नुहुनेछ र आवश्यकतानुसार यती एअरलाइन्सले उडान भर्ने नेपालको जुनसुकै गन्तव्यमा पनि निःशुल्क यात्रा गर्न पाउने व्यवस्था मिलाइएको छ । कुमारी स्काइ क्लब कार्ड स्वाइप गरी रु. १०० भुक्तानी गर्दा १ प्वाइन्ट जम्मा हुने र हरेक खर्चलाई रिवार्ड गरिने भएकोले कार्यक्रमको ट्यागलाइन नै ‘वि रिवार्ड योर स्पेन्डिंग’ राखिएको छ’, विष्टले जानकारी दिए ।

सेवाग्राहीको सुविधाका लागि विभिन्न साझेदारी संस्थासँग सहकार्य गर्दै आकर्षक सहुलियत कार्यक्रम गर्दै आएको कुमारी बैंक र यती एअरलाइन्सले भविष्यमा पनि आफ्ना सेवाग्राहीहरुलाई प्रत्यक्ष लाभ हुने कार्यक्रमहरु थप गर्दै लगिने बताईएको छ । हवाई र वित्तीय क्षेत्रबीच यस किसिमको व्यवसायिक सहकार्य पृथक शैलीमा नेपालमै पहिलोपटक भएको बताईएको छ ।

सेवाग्राहीको सुविधालाई अग्रपंक्तिमा राखि कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७२ एटिएम, ३२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu