सुपरहिट तेलुगू चलचित्र ‘पुष्पा’को सिक्वेलको छायांकन सुरु भएको छ । निर्माण अगावै प्रतिक्षीत बनेको ‘पुष्पा २’को सोमवारबाट छायांकन थालिएको हो । छायांकन सेटबाट अभिनेता अल्लु अर्जुन र छायांकार मिरोस्लाभ कुबा ब्रोजेंकको तस्विर सार्वजनिक भएको छ । उनीहरुलाई छायांकन सेटमा केही कुराकानी गरिरहेको देख्न सकिन्छ ।
केही महिना पहिले नै ‘पुष्पा’को सुटिङ सुरु हुने भनिए पनि प्राविधिक कारणले ढिलाई भएको थियो । २०२३ मा चलचित्रलाई प्रदर्शन गर्ने लक्ष्य निर्माण टिमको छ । यसले बक्सअफिमा आँधी ल्याउने आँकलन गरिएको छ । चलचित्रमा अल्लु अर्जुनसहित रश्मिका मन्दाना र फहाद फासिल समेत प्रमुख भूमिकामा छन् ।
हालै एक अन्तर्वार्तामा अल्लु अर्जुनले चलभित्रलाई लिएर आफू उत्साहित रहेको बताएका थिए । दोस्रो भाग अझै गुणस्तरीय बन्ने उनको विश्वास छ । निर्माताले पुष्पाको दोस्रो श्रृंखलाको बजेट ४०० करोड भारु हुने जनाएका छन् । पहिलो भाग १९४ करोड भारुमा बनेको थियो र विश्वभरबाट ३ सय ६५ करोडको कमाई गरेको थियो ।