अभिभावकको असीमित त्याग र सन्तानको मर्म बोल्ने ‘रोल नं १’को भावनात्मक गीत ‘मेरो लागि तिमी’ सार्वजनिक



काठमाडौं – आगामी जेठ १५ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘रोल नं १’ को अत्यन्तै मर्मस्पर्शी नयाँ गीत सार्वजनिक भएको छ। निर्माण पक्षले चलचित्रको मूल कथा र मर्मलाई उजागर गर्ने ‘मेरो लागि तिमी’ बोलको भावनात्मक गीत दर्शकमाझ ल्याएको हो।

गायक प्रशान्त शिवाकोटीकै शब्द, सङ्गीत तथा स्वर रहेको यस गीतले सन्तानको उज्ज्वल भविष्य र खुसीका लागि अभिभावकले गर्ने त्याग, सङ्घर्ष र उनीहरूले सहने अनेकौँ हन्डरलाई गहिराइबाट प्रस्तुत गरेको छ। सन्तानका लागि मातापिता नै साक्षात् ईश्वर र मन्दिर हुन् भन्ने शाश्वत सत्यलाई गीतले आफ्नो मुख्य सन्देश बनाएको छ। आफ्नो भाग्यको समेत पर्वाह नगरी सन्तानको सफलताका लागि सर्वस्व सुम्पिने आमाबुबाको महानतालाई केन्द्रमा राखिएको यस गीतले चलचित्रको मूल कथालाई स्पष्ट रूपमा झल्काएको छ। यसका साथै, गीतको भिडियो र भावले यो सिनेमाले आम नेपाली ग्रामीण समाजका विपन्न परिवारको यथार्थपरक कथा बोल्ने बलियो सङ्केत दिएको छ। गीतको भिडियोमा चलचित्रकै महत्त्वपूर्ण दृश्यहरूलाई समावेश गर्दै मुख्य कलाकारहरूलाई फिचर गरिएको छ।

महेश दवाडीको कथा लेखन तथा जौन योञ्जनको निर्देशनमा तयार भएको ‘रोल नं १’ ले वर्तमान त्रुटिपूर्ण शैक्षिक प्रणाली र त्यसले कलिला बालबालिकाको मनोविज्ञानमा पार्ने नकारात्मक असरलाई मुख्य विषयवस्तु बनाएको छ। विद्यार्थीको मनोविज्ञान र घोकन्ते परिपाटीले उनीहरूको समग्र जीवनमा पार्ने गम्भीर प्रभावलाई चलचित्रले सूक्ष्म ढङ्गले उठान गरेको निर्माण पक्षले जनाएको छ।

चलचित्रमा  निर्भिक रेग्मी, मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारीको मुख्य अभिनय देख्न सकिन्छ। त्यसैगरी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठले जीवन्त प्रस्तुति दिएका छन्। विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको यस चलचित्रका सह-निर्माताहरू छत्रमाया गिरी र रमेश चौलागाईं हुन्।

प्राविधिक तर्फ शिवराम श्रेष्ठको उत्कृष्ट छायांकन (डीओपी), मदन घिमिरेको सम्पादन र रोहित शाक्यको पार्श्व सङ्गीत (बिजीएम) रहेको छ। फिरोज खड्काको मुख्य सहायक निर्देशन रहेको यस सिनेमामा कला संग्रौलाको प्रोडक्सन डिजाइन र मनोज जोशीको निर्माण व्यवस्थापन रहेको छ। निर्माता विनोद पौडेलका अनुसार, रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरणको जिम्मा लिएको ‘रोल नं १’ नेपालका सिनेमाघरहरूका साथै विदेशमा पनि एकैसाथ प्रदर्शनमा आउनेछ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu